ढुक्क हुनुहोस्, सरकार तीन वर्ष तलमाथि हुँदैन : मन्त्री गुरूङ

नेपालखोज २०८१ मंसिर १४ गते १८:१६

वालिङ (स्याङ्जा) । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले दुई ठूला पार्टी मिलेर गठन भएको वर्तमान सरकार तीन वर्ष तलमाथि नहुने दाबी गरेका छन् ।

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले आयोजना गरेको छैटौँ अध्यक्ष कप तथा खेलकुद महोत्सवको शुक्रबार मिर्मीमा उद्घाटन गर्दै उनले सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न आग्रह गरे ।

देशमा राजनीतिक स्थायित्व नहुँदा अन्य विकास निर्माण, व्यापार, उत्पादनलगायत क्षेत्र प्रभावित हुने भएकाले देशलाई अग्रगति दिनका लागि निर्माण भएको वर्तमान सरकार आगामी निर्वाचनसम्म ढुक्ककासाथ टिक्ने उनको दाबी थियो ।

चीन भ्रमणका क्रममा बिआरआइका सन्दर्भमा सरकारले ऋण नलिने पनि उनले जानकारी दिए । कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य कल्पना तिवारी, भीरकोट नगरपालिका स्याङ्जाका प्रमुख गोविन्दकुमार कर्माचार्यलगायतका वक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कालीगण्डकी गाउँपालिका–७ स्थित मिर्मी खेलमैदानमा शुक्रबारदेखि सुरू भएको छैटौँ अध्यक्ष कप तथा खेलकुद महोत्सव आगामी आइतबारसम्म सञ्चालन हुने भएको हो । पुरूष महिला फुटबल, भलिबल, क्रिकेट (एकल-डबल), टेवल टेनिस (एकल-डबल)दौड, बुद्धिचालसहितका सात खेलका २२ विधामा सात सयभन्दा बढी खेलाडी सहभागी हुने गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले बताए ।

गाउँपालिकाले खेल क्षेत्रको माध्यमबाट पहिचान स्थापित गर्न र खेल पर्यटनको विकास गर्नका लागि प्रत्येक वर्ष खेल महोत्सव गर्दै आइरहेको छ । लुकेर रहेका प्रतिभालाई बाहिर ल्याउन र स्थापित खेलाडीलाई व्यावसायिकतातर्फ उन्मुख गर्नका लागि खेल महोत्सव कोसेढुङ्गा सावित हुने अध्यक्ष थापाको भनाइ थियो ।

पालिकाका सात वडाबाट ९८ जना खेलाडीका दरले प्रतियोगी सहभागी हुने भएका हुन् । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिता अवधिभर २२ स्वर्ण, २२ रजत र २२ काँस्य पदकका लागि प्रतिस्पर्धा हुने भएको हो । प्रतियोगिताका विजेता तथा उपविजेता हुनेलाई नगद रू पाँच लाख १० हजार पुरस्कारस्वरूप उपलब्ध गराउने अध्यक्ष थापाले बताए ।

प्रतिक्रिया