सर्केगाड उपाध्यक्षमा तिमिल्सिना विजयी

नेपालखोज २०८१ मंसिर १८ गते ६:२१

सिमकोट (हुम्ला) । हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदका लागि भएको स्थानीय तहको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)की देवकी तिमिल्सिना विजयी भएकी छन् । नेपाली कांग्रेसका उम्मेदवार सविता बुढालाई पछि पार्दै माओवादी केन्द्रकी उम्मेदवार तिमिल्सिनाले ४३ मत अन्तरले विजयी भएकी हुन् ।

सर्केगाडमा छ हजार आठ सय १० मतदाता रहेकामध्ये चार हजार पाँच सय २४ मत खसेको थियो । तिमल्सिनाले एक हजार छ सय ३७ मत ल्याएर विजयी भएकी हुन् । उनकी निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी बुढाले एक हजार पाँच सय ९४, नेपाल कम्युनिष्ट पार्टी (एमाले)की जाना शाहीले एक हजार एक सय ३२, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सङ्गीता शाहीले ५१, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की बाँचा बुढाले २५ र स्वतन्त्र उम्मेदवार नरेश शाहीले नौ मत प्राप्त गरे ।

खसेको मतमध्ये ७८ मत बदर भएका छन् । विसं २०७९ मा कांग्रेस र माओवादी केन्द्रले मिलेर निर्वाचन लडेकामा उक्त गठबन्धनबाट कांग्रेसका तर्फबाट अध्यक्ष पदका र माओवादीका तर्फबाट उपाध्यक्षमा पदका उम्मेदवार विजयी भए थियो । उपाध्यक्ष चन्द्रसिंह कार्कीको गत भदौ ४ गते गाडी दुर्घटनामा परेर निधन भएसँगै रिक्त पदमा उपनिर्वाचन भएको हो । रासस

प्रतिक्रिया