नेपालमा हवाई सेवाको इतिहास

दलीप सिंह मजीठिया भारतिय वायुसेनाका लडाकु विमान चालक थिए । वायुसेनाबाट अवकाश प्राप्त भए पछि आफैले खरिद गरेको चार सिट भएको Beach-Craft Bonanza विमान मोहनशम्शेरको समयमा नेपालको लागी पहिलो भारतीय राजदुत तथा दलीप सिंहका काकन सुरजीत सिंह मजीठियालाई लिन वि.सं. २००६ को बैशाखमा आएको थियो । यो नै काठमाडौको गौचरणको रुपमा रहेको घासे मैदानमा अवतरण भएको पहिलो विमान थियो ।
यस भन्दा अगाडि राजा त्रिभुवनलाई पहिलो पटक हृदयघाट हुँदा उपचारका लागि नेपाल आएका बेलायती डाक्टर कर्णेल डनहम ह्वाइट स्वदेश फर्कने क्रममा काठमाडौबाट पैदल तथा रेलमा सिमरा पुगे पछि उनलाई लिन वि.सं. १९९९ भदौमा सिमराको घाँसे मैदानमा सानो तीन सिटको पुश मथ (Push Moth) विमान अवतरण गरिएको थियो ।
नेपाली आकाशमा भने जुद्धशम्शेरको शासनकालमा सगरमाथाको चक्कर काट्न वि.सं.१९८९ चैत्र २१ गते Westland PV-3 र Westland PV-6 नामक दुइ युद्धक विमानलाइ केही परिमार्जित गरेर भारतीय भूमी पूर्णिया जिल्लाको लालबाबुबाट सगरमाथाको आकाशमा उडाइएको थियो । यस विमानलाई Major Stewart Blacker ले उडाएका थिए ।
काठमाडौ गौचरमा पहिलो विमान चार सिट भएको Beach-Craft Bonanza विमान मोहनशम्शेरको समयमा नेपालको लागी पहिलो भारतीय राजदुत सुरजीत सिंह मजीठियालाई लिन वि.सं. २००६ को बैशाखमा आएको थियो ।
डकोटा डिसी ३ विमानको प्रवेश
दोश्रो विमान पनि पटना विश्वविध्यालय का भि.सी. चन्द्रेश्वर प्रसाद नारायण सिंह नेपालको लागी दोश्रो राजदुत नियुक्त भए पछि महावीरशम्शेर राणाको निजी विमान कम्पनी हिमालयन एभिएशनको डकोटा चार्टर्ड गरेर वि.सं. २००६ को जेठमा काठमाडौ आएका थिए । यसपछी वि.सं. २००६ फागुन २२ मा मोहन शम्शेरको नातिनीको विवाह समारोहमा जम्मु काश्मिरका युवराज करण सिंह जन्तीको साथ चार्टर्ड गरिएको डकोटामा काठमाडौ आएका थिए ।
त्यसपछि २००७ असोज २६ बाट ब्यबसायिक उडानको शुरूवात भयो । पटनाबाट यात्रुहरू बोकेर पहिलो विमान काठमाडौ गौचरमा रोकियो । यसपछि त विमानको क्रम बढी नै रह्यो । २००७ को कार्तिक २२ मा नेपाली आकाशमा एकैचोटी चारवटा विमान देखियो । मोहनशम्शेरले केही दिन देखी लगाएको एयरस्ट्राईक को वावजुद पनि भारतिय सेनाको विमानले राज परिवारलाई रेस्क्यू गरेर नया दिल्ली पुर्यायो ।
२०१२ मा सानो गौचरको नाम त्रीभुवन विमान स्थल भयो ।
शानेवानीको जन्म
भारतको उडिसा प्रान्तमा रहेको मयुरभञ्ज राज्यका राजकुमार प्रदिप चन्द्र भञ्जदेवसंग राजा त्रिभुवनको कान्छी छोरी भारती राज्य लक्ष्मीको कलकत्तामा दरभंगाका राजा कामेश्वर सिंहको पहलमा उनकै महल दरभंगा हाउसमा २००८ माघ २५ गते (सन १९५२ फेब्रुअरी ८)मा भएको थियो ।
नेपालको राजघराजासंग गाँसिए पछि सम्पन्न र शक्तिशाली राज्यका राजकुमारलाई राजा महेन्द्रले आफ्ना ज्वाइ प्रदिप चन्द्र भञ्जदेवलाई नेपालमा नीजि विमानसेवा सञ्चालनका लागि अनुरोध गरेका थिए । राणाशासनबाट मुक्त भए पनि देशमा आएको प्रजातन्त्रको राम्रो सदुपयोग त्यसबेलाका नेताहरुले गर्न सकेका थिएनन् । आपसी द्वन्दले कुनै पनि सरकार लामो समयसम्म टिक्न पनि सकेका थिएनन् । जसले गर्दा देशको आर्थिक अवस्था सुदृढ हुन सकेको थिएन । यसर्थ भर्खरै राजा बनेका महेन्द्रले भारतको शक्तिशाली र सम्पन्न राजा प्रतापचन्द्र भञ्जदेवका छोरा राजकुमार प्रदिप चन्द्र भञ्जदेवलाई अनुरोध गरेका थिए ।
राजकुमार मानसिक रुपले तैयार भए पछि राजा महेन्द्रले त्रिपुरेश्वरमा रहेको अतिथी गृहमा राजकुमारलाई बस्ने प्रबन्ध मिलाइ विमानसेवा स्थापनाका लागि बिभिन्न अनुष्ठान गर्ने ब्यबस्था समेत राजा महेन्द्रले मिलाइदिएका थिए । तन्त्रमा विश्वास गर्ने राजकुमारले उडिसाबाट केही तान्त्रिक ल्याएका थिए भने राजा महेन्द्रले काठमाडौमा रहेका गुभाजुहरुलाई पनि अनुष्ठानका लागि खटाएका थिए ।
श्वेत भैरवको साधना गरि विमान सेवाको शुभारम्भ गरेको हुँदा श्वेतभैरवलाई नै विमानको चिन्हको रुपमा राखियो । साथै मयुरभञ्जको राजकीय परिवारबाट स्थापना भएको हुँदा Royal Nepal Airlines नाम दिइएको विमान कम्पनीमा नेपाल सरकारको ५१ प्रतिशत स्वामित्व थियो भने राजकुमार प्रदिपचन्द्रको ४९ प्रतिशत स्वामित्व थियो । वास्तवमा Royal शब्द उनको राजघरानाका रुपमा राखिएको थियो । तर पछि यो नाम नेपालीकरण गर्दा शाही नेपाल वायुसेवा निगम भयो । नेपालमा डिसी ३ विमान ल्याइयो ।
पहिलो उडानमा पाइलट थिए – बंगाली बेलायती पाइलट बब डब्लु चाटर (चटर्जी), को पाइलट थिए – टिएस जान्लट, रेडियो अफिसर पिके सोम तथा परिचारकका रुपमा पुरी नाम गरेका थिए । एयरलाइन्सको जनरल मेनेजर भने राजकुमार प्रदिप चन्द्र भञ्जदेव नै थिए । विमान कम्पनीको विधिवत उद्घाटन २०१५ असार ४ गते रोयल नेपाल एयरलाइन्सको पहिलो ब्यबसायिक उडान पटनाको उडानबाट भएको थियो । दोश्रो उडान असार ५ गते गरेको थियो भने ६ गते भैरहवा र बिराटनगरको दुइ उडान गरेको थियो । यसरी रोयल नेपाल एयरलाइन्सको शुरुवात भएको थियो । यस अगाडि पनि विमानले सेवा दिन थालिसकेको थियो ।
यसको करिव एक वर्ष पछि देशमा प्रजातान्त्रिक सरकार बन्यो यातायात मन्त्री बने गणेशमान सिंह । गणेशमानकै कार्यकालमा भारतबाट पाइलट पढेर भर्खरै आइपुगेका बद्रीकृष्ण श्रेष्ठले पाइलटका लागि रोयल नेपाल एयरलाइन्समा निवेदन दिन गए । तर जनरल मेनेजर रहेका राजकुमार प्रदिपचन्द्रले अस्विकार गरि फिर्ता पठाए । यो कुरा यातायात मन्त्री रहेका गणेशमान सिंहसम्म पुग्यो । गणेशमानले तत्कालै नियुक्तिका लागि राजकुमारलाई नेपालीमा लेखिएको चिट दिएर पठाए । तर राजकुमार प्रदिपचन्द्रले उल्टै मन्त्रिलाई अंग्रेजीमा अनुवाद गरेर पठाउनु भनेर चिट फर्काइ दिए । यसपछि रिसले गणेशमानसिंहले तत्कालै क्याबिनेटको बैठक बोलाएर नेपाल एयरलाइन्स राष्ट्रियकरण भएको निर्णय गराए । केही दिन पछि राजकुमार प्रदिपचन्द्रलाई नेपाल एयरलाइन्सबाट सदाका लागि छुट्टी दिइयो । २०१५ असारमा अमेरिकी सरकारले दोश्रो विश्व युद्ध पछि उपयोग बिहिन रहेको ३ वटा डकोटा विमान यातायात मन्त्री गणेशमान सिंहलाई हस्तान्तरण गरेपछि शाही नेपाल वायु सेवा निगमको जन्म र आफ्नै सरकारी स्वामित्वको विमान उडाउन सफल भयो । पनि त्रिभुवन विमान स्थलमा अवतरणको सुअवसर पायो ।
नेपाली आकाशमा पिलाटस पोर्टरको पिसी-६
२०१६ सालमा भएको सफल स्वीस धवलागिरि अभियानमा पिसी-६ को पहिलो विमान HB-FAN लाई “यती” नामाकरण गरेर नेपालमा उडाईएको थियो । नेपालमा भएको सफल उडानले यस विमानले विश्व बजार लिन सक्षम भयो । STOL (छोटो दुरीमा अवतरण र उडान गर्न सकिने) प्रविधिको विमान भएकोले पहाडी र हिमाली क्षेत्रका लागी अति नै उपयुक्त सावित भयो ।
पिसी-६ को दोश्रो विमान HB-FAO पनि पछि स्वीस प्रोजेक्ट हेल्भेटास मार्फत २०२४ जेठमा नेपालमा आयो । यो भन्दा पहिले २०१७ सालको माघमा अमेरिकी सहयोग नियोग यूएसओएमले दुई पिसी-६ विमान तथा स्वीस रेडक्रसले एक विमान नेपालमा ल्यायो । यूएसओएमले शानेवानिलाई २०१७ फागुनमा हस्तान्तरण गरेको एक महिना नबित्दै एउटा जिरीमा दुर्घटना ग्रस्त भयो भने १८ महिना पछि ढोरबाराहीमा अर्को विमान दुर्घटना ग्रस्त भयो । 9N-AAF र 9N-AAG को दुर्घटना पछि २०२० को जेठमा संयुक्त राष्ट्र संघले पिसी-६ विमान ल्यायो यसको विमान सुचकांक थियो 9N-AAN । रेडक्रसले ल्याएको HB-FAX अंकित पिसी-६ विमान भने तिब्बती शरणार्थीहरुको लागी राहत बाड्ने काममा ब्यस्त रह्यो । २०१७ माघ १४ देखी २०२५ भदौ १४ सम्म नेपालमा रहेको थियो । साथै समय समयमा जंगल एभिएशनको पिसी-६ विमान पनि चार्टर्ड उडानमा नेपाल आउने गरेको थियो । भने २०२२ सालमा अमेरिकी राजदुतावासले पनि पिसी-६ विमान ल्याएको थियो । यस बाहेक २०२९ को मंसिरमा युएनडिपीले पिसी-६ ल्यायो । 9N-AAW अंकित यो विमान केही वर्ष नेपालको आकाशमा उड्यो । पछि दुर्घटनाग्रस्त भएपछि क्यानाडामा बिक्री गरियो ।
अन्तत २०२८ को असारमा बल्ल शानेवानीले पिलाटस कम्पनीसंग दुइ विमान खरिद गर्यो । 9N-AAZ र 9N-ABC अंकित दुइ पिसी-६ विमान खरिद गरेको ५ वर्ष पछि फेरी दुइ विमान मगायो 9N-ABJ २०३२ को कार्तिकमा आइपुग्यो भने पुसमा 9N-ABK नेपालमा थपियो । दुखको कुरा २०५५ को पुससम्म नेपालमा रहेको पिसी-६ विमान दुर्घटना हुदै सकियो ।
तर पिलाटस प्रतिको माया फेरी करिव ५० वर्ष पछि यती एयरलाइन्स मार्फत फर्कियो । २०६६ को जेठ र असारमा दुइ विमान आइपुग्यो । नेपाली आकाशमा तारा एयरको नाममा उडेका यि दुइ विमान पनि क्रमश २०६६ कार्तिकमा स्याङबोचे र २०६८ असोजमा लुक्लामा दुर्घटना भए पछि यि जहाज बिदेशी कम्पनीलाई बिक्री गरियो ।
२०१६ सालको मंसिरको २२ गतेबाट नेपालको आकाशमा उड्न शुरुवात गरेको पिलाटस पोर्टरको पिसी-६ विमानले २०६८ को असोज १९ मा अन्तिम उडान गरेको थियो । यसरी करिव ५२ वर्षको अवधीमा १२ वटा पिसी-६ विमानले नेपालको आकाशमा चक्कर लगायो ।
यसरी हेर्दा नेपालको आकाशमा एउटा मात्र इञ्जिन भएको पिलाटस पोर्टर खासै नाफामुलक तथा सुरक्षित रहेन । त्यसैले पनि नेपाली आकाशमा बिस्तारै दुइ इञ्जिन युक्त ट्वीनअटरले पिलाटस पोर्टरको ठाँउ लिन थाल्यो ।
नेपाली आकाशमा ट्वीनअटर
२०१७ सालको अन्तमा नेपालमा आएको पिलाटस पोर्टर “यती” को उडान पछि नेपालको पहाडी धरातलको लागी STOL (छोटो दुरीमा उडान र अवतरण गर्न सकिने) प्रविधीको आबश्यक रहेको प्रमाणित भयो । साथमा पिलाटस पोर्टरको आगमन पनि हुन थाल्यो । एक मात्र इञ्जिन भएको र समय समयमा दुर्घटनाहरु हुँदा बिस्तारै यसको बिकल्प पनि सोच्न थालियो ।
२०२२ सालमा उत्पादन थालेको ड हैविलैंड क्यानाडाको ट्वीनअटर विमानले बिस्तारै विश्व बजार लिन थालेको थियो । शुरुमा १०० सिरिजको विमानहरुको उत्पादन गरेको ट्वीनअटर कम्पनीले पछि बिस्तारै २००, ३०० र ४०० सिरिजको विमानहरु पनि बनाउन थाल्यो । नेपालले पनि पिलाटस तथा डकोटाको बिकल्पको रुपमा ट्वीनअटर बारे सोच बनाउन थाल्यो ।
नेपालमा पहिलो पटक २०२५ सालको जेठमा १०० सिरिजको विमान ल्याइएको थियो । 9N-RF9 नम्वर दिइएको थियो । यो विमानले खासै उडान गर्न पाएन, २० महिनाको पछि नै जोमसोममा दुर्घटना ग्रस्त भयो । नेपाली सेनाले प्रयोगमा ल्याएको यो विमान रोयल फ्लाइटको लागी ल्याइएको थियो । तर यो विमान जोमसोम विमान स्थलमा दुर्घटनाग्रस्त भयो । २०२६ फागुन १७ मा दुर्घटना हुँदा एक यात्रुको मृत्यु भएको थियो । अन्य तीन यात्रु र पाइलट घाइते भएका थिए ।
नेपाली सेनाको पहिलो ट्वीन अटरको दुर्घटनाको एक वर्ष पछि नै नेपालले एकसाथ दुइवटा ट्वीन अटर मगायो । DHC-6 300 मोडलका दुइ विमान क्रमश २०२८ को जेठ ६ र २०२८ को असार ३ मा काठमाडौ आइपुग्यो । खासगरी यो विमान दोश्रो विश्व युद्ध पछि ब्यबसायिक उडानमा ल्याइएको डकोटा विमानको बिकल्पको लागी ल्याइएको थियो । डकोटा प्रमुख ठूला विमानस्थलमा मात्र अवतरण गर्न सकिन्थ्यो भने ट्वीन अटर पहाडी साना विमानस्थलमा पनि अवतरण गर्न सकिन्थ्यो । जसले गर्दा नेपालको भू-बनावट सुहाँउदो थियो । 9N-ABA र 9N-ABB संकेत दिइएको यो दुइ विमान नेपालको लागी निकै महत्वपूर्ण रह्यो । न्यूनतम मर्मत तथा सम्भार खर्चमा यि दुइ विमानमा पहिलोले २० वर्ष उडान गर्न सक्यो भने दोश्रोले ४३ वर्ष नेपाली आकाशमा उड्यो ।
पहिलो विमान २०४८ जेठ २६ लुक्लामा दुर्घटना भयो । तर कसैको पनि हताहत भएन भने दोश्रो विमान २०७० फागुन ४ गते दुर्घटना हुँदा १८ जनाको मृत्यु भयो । यो दुर्घटनाले नेपाल वायु सेवाले ट्वीन अटरसंगको सम्बन्ध नै तोड्यो । बाकी रहेको एक विमान पनि यती एयरलाई भाडामा दियो । सेनाको दुइ र नेपाल वायु सेवाको १२ गरि १४ विमानमा एउटा बाहेक सबै दुर्घटनाबाट भयो । कुनै आंशिक क्षति भए भने कुनै कामै नलाग्ने भयो ।
नेपाल वायु सेवा निगम बाहेक पनि ट्वीन अटर विमान नेपाली आकाशमा युएनडिपी, लुम्बिनी एयर, यति एयर, यतिकै भगिनी तारा एयर, सांग्रिला र स्काइलाइनको नाममा पनि उडे । १२ वटा नेपाल वायु सेवा निगमको २ वटा सेनाको, १ वटा यूएनडिपीको र ११ वटा निजी विमान सेवाको गरि २६ ट्वीन अटर नेपाली आकाशमा उडे । नेपाली आकाशमा ट्वीन अटरको ५० वर्षको इतिहासमा लामो अवधी उड्न सक्षम 9N-ABB मात्र ४३ वर्ष उड्यो । तर अन्यले खासै राम्रो सेवा दिन सकेन ।
यसरी समग्रमा हेर्दा नेपाली आकाशमा ५० वर्षमा २६ ट्वीन अटर उडे । अधिकांश दुर्घटनाग्रस्त भए जसको कारणले गर्दा १९० जनाको ज्यान गयो । अधिकांश विमान दुर्घटना प्राविधिक कारणले नै घटे ।
नेपाली आकाशमा फोकर F27
देशमा सडक मार्गको निर्माण नहुँदा आन्तरिक उडानहरुमा शाही नेपाल वायु सेवा निगमको माग निकै बढी भएको थियो । उपहारमा पाएका डकोटाहरुले देशको प्रमुख शहरहरुको उडान मज्जाले धानिरहेको थियो । बिकल्पमा ल्याइएका चीनिया जहाजले पनि राम्रो सेवा दिन सकेन । जसले गर्दा केही पिलाटस पोर्टर विमानले दुर्गम पहाडी विमानस्थल तथा मुख्य शहरी क्षेत्रहरुमा सेवा दिइरहेको थियो । भारतीय शहरहरुमा डकोटाले सेवा दिइरहेको भए पनि डकोटा विमान पुरानो हुँदै जाँदा दुर्घटना हुन थाले जसले गर्दा हटाउनु पर्ने बाध्यता बिस्तारै सोच्न थालियो ।
यसैले गर्दा नेपालकै प्रमुख विमानस्थल तथा भारतीय शहरमा सेवा नियमित गराउन पनि शानेवानिले नयाँ विमान किन्न बाध्य भयो । अन्तत डच फोकर जहाज F27-200 विमान २०२३ सालको शुरुमा नेपाल भित्रियो । त्यति बेलाको राम्रो विमानमा पर्ने फोकर विमानले बिस्तारै भारतीय शहरमा उडान गर्न थाल्यो ।
२०२६ माघ १२ गते काठमाडौबाट दिल्लीको लागी उडेको विमान पालम विमान स्थलमा अवतरणको समय अत्यधिक हावा हुरी चल्दा पाइलटले जहाजलाई नियन्त्रण गर्न असमर्थ भयो । जसको कारणले विमान दुर्घटना ग्रस्त भयो । पाइलट क्याप्टेन बलसाराले आफ्नो जीवन बलिदान दिएर सम्पूर्ण १८ यात्रु तथा ४ विमान कर्मचारीको ज्यान जोगाए । यसरी नेपालको पहिलो र एकमात्र फोकर विमानले सधैको लागी बिदा लियो ।
नेपाली आकाशमा एभ्रो HS-748
डकोटाको बिकल्पमा नेपालमा केही नयाँ जहाजको आबश्यकताको अनुभूती भइसके पनि कुन जहाज उपयुक्त भन्ने निश्चित भइसकेको थिएन। पहाडी विमानस्थलको लागी ट्वीन अटर र पिलाटस पोर्टरलाई बिकल्पको रुपमा लिन शुरु गरे झै ठूला शहरमा तथा भारतको प्रमुख शहरहरुमा डकोटाको बिकल्पमा बेलायती जहाज कम्पनी Hawker Siddley को Hs-748 एभ्रो विमानलाई लिन थालियो । २०२६ को माघ ८ गते शाही नेपाल वायु सेवा निगमको लागी पहिलो एभ्रो विमान काठमाडौ आइपुग्यो । यसलाई 9N-AAU संकेतांक राखियो । ४१ दिन पछि फागुन २० गते अर्को विमान पनि त्रिभुवन विमानस्थलमा अवतरण गर्यो । यसको संकेतांक 9N-AAV राखियो ।
यि दुइ एभ्रो विमान सञ्चालकको निर्णयबाट नै खरिद गरिएको थियो । एभ्रो निकै सफल विमानको रुपमा राष्ट्रिय तथा अन्तराष्ट्रिय उडानमा ब्यस्त रह्यो । भारतीय उडानमा शानेवानिले कार्ल्सवर्ग वियर पनि दिन थालेको थियो । ४४ सिट क्षमताको यो विमान सफलतम नै रह्यो । जसले गर्दा निगमले २०३६ कार्तिक १२ मा थप एक एभ्रो फेरी ल्यायो । यस अगाडी राजा विरेन्द्रको शुभराज्यभिषेक भन्दा केही अगाडी शाही उडान तथा अति बिशिष्टको उडानको लागी शाही सेनाको लागी एभ्रो विमान खरिद गरेको थियो । २०३१ माघ १० मा आइपुगेको विमानले पनि निकै समय उडान गर्न सक्षम भयो । शानेवानिका शुरुका दुइ एभ्रो र सेनाको एभ्रो धेरै उडानले थोत्रिए तर पछिल्लो एभ्रो भने २०५३ बैशाख १३ मा वर्षातको समय भरतपुर मेघौलीको घाँसे मैदानमा अवतरणको क्रममा चिप्लिएर विमानस्थल भन्दा बाहिर ककपिट जमिनमा धस्सिएर दुर्घटना भयो । विमानका यात्रु तथा चालक दलका कसैलाई पनि कुनै चोटपटक लागेन ।
२०४९ सालमा नेपालमा गैर सरकारी विमान कम्पनीले आन्तरिक हवाइ उडान गर्न पाउने भए पछि पहिलो निजी विमान कम्पनीको रुपमा नेकोन एयरको जन्म भयो । यहि कम्पनीले २०४९ भदौ २९ मा एउटा एभ्रोबाट उडानको शुरुवात गरेको थियो । पछि तीनवटा एभ्रो, एउटा टर्बो एटिआर र एउटा सेस्ना विमान चार्टर्ड उडानको लागी थप गर्यो । नेकोन एयरसंग रहेको एभ्रो विमानहरुमा संकेतांक 9N-ACM, 9N-AEG विमान क्रमश २०५४ कार्तिक २२ मा पोखरा विमानस्थलमा र २०५६ भदौ २० गते काठमाडौ पुग्न लाग्दा दुरसञ्चारको टावरमा ठोक्किएर दुर्घटना भयो । पहिलो दुर्घटनामा विमान क्षति मात्र भएको थियो तर दोश्रो दुर्घटनामा भने १० यात्रु तथा ५ विमानका कर्मचारी गरी सबैको निधन भयो ।
नेपालको अर्को निजी कम्पनी नेपाल एयरवेजले पनि एउटा एभ्रो ल्याएको थियो । 9N-ACW संकेतांक रहेको यो विमान पनि २०५४ कार्तिक २२ मा नेकोन एयरको विमानले पोखरा विमानस्थलमा ठक्कर दिँदा कामै नलाग्ने भयो ।
यसरी नेपालको आकाशमा सबैभन्दा बढी नेकोन एयरको ७, शानेवानिको, ३, नेपाल एयरवेजको ३ र नेपाली सेनाको १ गरि १४ वटा एभ्रो विमानले सेवा दिएको थियो ।
त्रिभुवन विमानस्थलमा कङ्कर्डको सफल अवतरण
टुर अपरेटरको रुपमा विश्व प्रख्यात अमेरिकी कम्पनी अमेरिकन एक्सप्रेसले २०४४ को बैशाखमा सुचना निकाल्दै कङ्कर्ड विमानमा विश्व भ्रमणका इच्छुकहरुलाई आमन्त्रण गर्यो । २०४४ असोज १४ देखी असोज ३० गते (३० सेप्टेम्वर देखी १६ अक्टोवर १९८७) सम्मको १७ दिनको यात्राको २५ हजार डलर प्रति यात्रु तोकिएको थियो । यस शुल्कमा यात्रुलाई प्रत्येक शहरमा बस्ने र खाने सुविधा पनि प्रदान गरिएको थियो । केवल ६३ जना धनाध्यहरु यात्रुको रुपमा र ९ जना विमान कर्मचारीको रुपमा पेरिसबाट पेरिससम्मको यात्रा तोकिएको यो चार्टर्ड उडानमा विश्वको १० शहरहरु पुगेका थिए । पेरिसबाट उडान शुरु गरेर पेरिसमा टुङ्ग्याउने यो यात्राको सुचीमा नवौ विन्दु काठमाडौ राखिएको थियो । पेरिसबाट अमेरिकाको सान्ता मारिया तथा सान जुआन, मेक्सिकोको मेक्सिको सिटी तथा आकापुल्को, होनोलुलु, हङकङ, काठमाडौ, दिल्ली हुदै पेरिस फर्कने तालिका बनाइएको थियो । निर्धारित तालिका भन्दा एक दिन अगाडी २०४४ असोज २५ गते काठमाडौ अवतरण गरेर निर्धारित मिती असोज २८ मा दिल्लीको लागी उडेको थियो ।
बहुदलको साथ आएको निजी विमानसेवा
२०४६-४७ को आन्दोलनको सफलता पछि देशमा बहुदलीय राजनितीको शुरुवात भयो । देशमा परिवर्तनको सपनाहरु बुन्न थालियो । केही राम्रा कामहरु भए केही देशको प्रमुख उद्योगहरु राजनीतिक कार्यकर्ताको भर्ति केन्द्र बन्दै धराशायी भए ।
यहि अनुरुप २०५० सालमा “राष्ट्रिय हवाई नीति २०५०” पारित भयो । जसले गर्दा नेपाली आकाशमा निजी स्तरको विमानसेवाले पनि प्रतिस्पर्धा गर्न पाउने भयो । नेपाली आकाश नेपाल सरकारको विमानको मात्र एकलौटी भएन । यसले केही प्रतिस्पर्धाको शुरुवात गराउन थाल्यो । एकातर्फ यो आबश्यकता थियो भने अर्को तर्फ नाफामा गएको शाही नेपाल वायुसेवा निगम धराशायी गर्ने एक प्रकारको षडयन्त्रको शुरुवात पनि भयो ।
यसरी “राष्ट्रिय हवाई नीति २०५०” को लागू भएपछि देशमा निजी विमानको आगमन हुन थाल्यो । २०५२ सालको माघ २२ गते नेपालमा पहिलो नीजि विमान कम्पनीको रुपमा एशियन एयरलाइन्सले दर्ता गर्न सफल भयो । यसको दुइ दिन पछि अर्को विमान कम्पनी लुम्बिनी एयरले दर्ता गर्यो । २०५२ सालको अन्त सम्ममा एभरेष्ट एयर, नेपाल एयरवेज र नेकोन एयरले पनि दर्ता गरिसकेको थियो ।
निजी विमान कम्पनीहरुमा एयर डाइनाष्टी, एशियन एयरलाइन्स, लुम्विनी एयर, एभरेष्ट एयर, नेपाल एयरवेज, नेकोन एयर, गोर्खा एयरलाइन्स, मनकामना एयरवेज, बुद्ध एयर, फिसटेल एयर, मनाङ एयर, कस्मिक एयर, माउन्टेन एयर, गरुड एयर, कर्णाली एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, सिम्रिक एयर, सीता एयर, अग्नी एयर, गुण एयरलाइन्स, तारा एयर, मकालु एयर, माउन्टेन हेलिकोप्टर्स, समिट एयर, हिमालय एयरलाइन्स, एयर काष्ठमण्डप, अल्पाइन एयर, एशियन एयरलाइन्स, बेस एयर, बि बि एयरवेज, सौर्य एयरलाइन्स, प्रभु हेलिकोप्टर्स, हेली एयरेष्ट, अल्टिच्युट एयर, फ्लाइ यती, फ्लाइङ ड्रागन एयरलाइन्स, गरूड एयर, स्काइलाइन एयरवेज, साङ्ग्रिला एयर, मुक्तिनाथ एयरलाइन्स, गोर्खा एयरलाइन्स कैलाश हेलिकोप्टर सर्भिस तथा अन्य रहेका थिए । यसमध्य कतिपयको कुनै पनि निशानी बाकी छैनन् ।
प्रतिक्रिया