‘मानव अधिकारको परिपालना गर्नु सबैको दायित्त्व हो’

पाटन । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले मानव अधिकारको मानव अधिकारको परिपालना गर्नु राज्य र हरेक व्यक्तिको दायित्व भएको बताएका छन् ।
७६औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा आजदेखि ललितपुरको जावलाखेलमा सुरु भएको १६औँ मानवअधिकार राष्ट्रिय महाभेला २०८१ को उद्घाटन गर्दै अध्यक्ष दाहालले राज्यले मानव अधिकारको सुनिश्चितता र हरेक व्यक्तिले त्यसको परिपालना गर्नुपर्ने बताएका हुन् ।
अध्यक्ष दाहालले राज्य र राज्यका हरेक निकायले विपन्न र सीमान्तीकृत समुदायको मानव अधिकारको रक्षाको विषयमा प्रतिबद्ध हुनुपर्ने धारणासमेत राखे । ‘मानव अधिकारको कुरा गर्दा सीमान्तकृत नागरिकमैत्री भएर छलफल हुनु जरूरी छ । समान अवसर र समानुपातिक न्यायका लागि अधिकार संरक्षणमा बाधक भएका नीति नियम परिवर्तन गर्न जरूरी छ । यस्तै समाजलाई समतामूलक बनाउनु हामी सबैको दायित्व हो’, उनको भनाइ थियो ।
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले सीमान्तकृत समुदायका लागि राष्ट्रिय मानव अधिकार आयोगले काम गरिरहेको बताए । उनले मानव अधिकारका विषयमा अध्ययन प्रतिवेदनसहित सरकारमा पेस गरिए पनि त्यसको कार्यान्वयन फितलो रहेको बताए ।
राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले मानवअधिकार रक्षा राज्यको मात्रै दायित्व नभई प्रत्येक व्यक्तिको दायित्व भएकामा ध्यानाकर्षण गराइन् । महिला अधिकार राज्य पक्षभन्दा गैरराज्य पक्षबाट बढी हनन भइरहेकाले यसलाई रोक्न राज्यले कडाइका साथ दण्डित गर्नुपर्नेमा जोड दिइन् ।
आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापामगरले मानव अधिकारका सन्दर्भमा संविधानमा गरिएको विशिष्टीकृत व्यवस्था इमानदारीपूर्वक पालना गर्न सम्बद्ध निकायलाई आग्रह गरे ।
राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा र थारू आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले नेपाल सरकारले विभिन्न समयमा हरवाचरवा र कमैया राख्ने प्रथाको अन्त्य गरेको भए पनि आधारभूत आवश्यकता पूरा गर्न नसकेकाले यो प्रथा कायमै रहेको धारणा राखे । उनीहरूले सीमान्तीकृत समुदाय विस्थापित हुने अवस्थामा रहेकाले तत्काल व्यवस्थापनका लागि सरकारको ध्यानाकर्ष गराए । रासस

प्रतिक्रिया