आपत्कालीन शल्यक्रियापछि ब्राजिलका लुला ‘स्थिर’

साओ पाउलो । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा ‘इन्ट्राक्रानियल हेमरेज’ को आपत्कालीन शल्यक्रियापछि ‘स्थिर’ अवस्थामा रहेको र अर्को हप्ता अस्पताल छोड्न सक्ने उनका चिकित्सकहरूले मङ्गलबार बताएका छन् ।
उनासी वर्षीय लुलालाई अक्टोबरमा भएको एक घट्नाका कारण टाउको दुखाइसँग सम्बन्धित देखिएपछि रातारात साओ पाउलोको शीर्ष चिकित्सा सुविधा सिरियो–लिबानेस अस्पतालमा लगिएको थियो ।
दक्षिण अमेरिकाको सबैभन्दा ठूलो मुलुकका नेता शल्यक्रियापछि होसमा आउनुभएको र खाना खानुभएको चिकित्सकहरूले एक पत्रकार सम्मेलनमा बताए ।
यसैबीच उपराष्ट्रपति जेराल्डो अल्कमिनले लुलाको कामको भार सम्हालेका थिए ।
अक्टोबर १९ मा लुलाले भोगेको पतनसँग रक्तस्राव जोडिएको अस्पतालले बताएको छ । राजधानी ब्रासिलियामा रहेको राष्ट्रपति निवासको शौचालयमा लड्दा लुलाको टाउकोमा चोट लागेको थियो र उनलाई धेरै टाँका लगाइएका थियो ।
सोमबार टाउको दुखेपछि ब्रासिलियामा गरिएको चिकित्सा परीक्षणले इन्ट्राक्रानियल हेमरेज (रक्तस्राव) फेला पारेको थियो ।
लुलालाई तुरुन्तै सिरियो–लिबानेस अस्पतालमा लगिएको थियो । त्यहाँ शल्यचिकित्सकहरूले दबाब कम गर्न टाउकोमा ट्रेपेनेसन–ड्रिलिङ गरेका थिए ।
प्रतिक्रिया