‘प्रकृतिमा आधारित पर्यटनका लागि हिमाल आकर्षक गन्तव्यस्थल’

काठमाडौं । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले प्रकृतिमा आधारित पर्यटनका लागि हिमाल सबैभन्दा आकर्षक गन्तव्यस्थलको रुपमा रहेको बताएका छन् । अन्तर्राष्ट्रिय पर्वतीय दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले हाम्रा हिमाल जलवायु जोखिमको चपेटामा पर्दै आएको उल्लेख गरे ।
मन्त्री शाहीले भने, ‘हामीमाझ जथाभावी गरिने भौतिक विकास, वन अतिक्रमण, वन फडानी, मानव–वन्यजन्तु द्वन्द्व, वन्यजन्तुको अपराध पर्वतीय क्षेत्रको इकोसिस्टम र दिगो विकासका चुनौती हुन्, यी सबै चुनौतीलाई सामना गर्न सबै मिलेर काम गर्नुको विकल्प छैन ।’
पर्वतीय क्षेत्रका जैविक विविधताको ह्रास रोक्न र यस क्षेत्रको जलवायु जोखिमलाई सम्बोधन गर्न नेपालले खेलेको भूमिका प्रसंशनीय रहेको उनको भनाइ थियो । ‘सामुदायिक वनमा हामीले प्राप्त गरेको सफलता, जैविक विविधता संरक्षणमा हामीले देखाएको प्रतिबद्धता र योगदान आज अन्य देशहरुका लागि प्रेरणाका स्रोत भएका छन्’, उनले भने । मन्त्री शाहीले बसाइँसराइले गर्दा वन माथिको निर्भरता घट्दै गएकाले वन पैदावारलाई उद्योग व्यवसायसँग जोड्नुपर्ने बताए ।
‘नेपालका हिमाल नेपालीका श्रीपेचको रुपमा छन्, हिमालले उत्पादन गरेको सफा पानी र स्वच्छ हावा अन्तर्राष्ट्रिय समुदायका सार्वजनिक सम्पत्ति हुन्’, उनले भने, ‘हिमालहरु हाम्रो गौरव मात्र होइनन्, पारिस्थितिकीय, सांस्कृतिक र आर्थिक पहिचानको आधार पनि हुन् ।’
कार्यक्रममा वन राज्यमन्त्री रुपा विकले नेपालका हिमालहरू वनस्पति र वन्यजन्तुहरूको भण्डारण भएको उल्लेख गर्दै मूल्यवान जैविक विविधताको संरक्षण गर्नु हाम्रो कर्तव्य रहेकामा जोड दिए । ‘हाम्रा हिमाल जलवायु परिवर्तनको उच्च जोखिमा परेको तथ्य जगजाहेर छ । छिटोछिटो हिउँ पग्लिँदा सेता हिमाल काला पहाडमा परिणत भएका छन्’, राज्यमन्त्री विकले भने, ‘यी चुनौतीहरूको सम्बोधनका लागि प्रकृतिमा आधारित समाधानहरूको खोजी गरी जलवायु अनुकूलन कार्यक्रम कार्यान्वयन गर्नुपर्ने हुन्छ । यसका लागि अन्तर्राष्ट्रिय समुदायको साथ सहयोग चाहिन्छ ।’
कार्यक्रममा राष्ट्रियसभाको दिगो विकास, आर्थिक सहायता तथा सुशासन समितिका सभापति कमलादेवी पन्त, प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति कुशुमदेवी थापा, राष्ट्रियसभा सांसद अन्जना शाक्य, वनसचिव डा दीपककुमार खराल, नेपालका लागि संयुक्त अधिराज्यका राजदूत रोब फेन, नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक हाना सिंगर हाम्दी, इसिमोडका महानिर्देशक डा पेमा ग्याम्च्यो लगायतले जीवनलाई दिगो बनाउन हिमालको भूमिका बारेमा प्रकाश पारेका थिए । रासस
प्रतिक्रिया