सँगिनी र बालन नाच संरक्षणमा महिला समूह

पथरी । आधुनिक नृत्य र पश्चिमा संस्कृति भित्रिएसँगै नेपाली मौलिक संस्कृति झल्कने नृत्यहरू लोप हुँदै गएका छन् । आधुनिक मनोरञ्जनका साधनको पहुँच बढेसँगै यहाँ परम्परागत सँगिनी र बालन नाच लोप हुन थालेका हुन् । सरकारी पक्षबाट पनि यस्ता संस्कार र सांस्कृतिक नृत्यहरूको संरक्षणमा चासो नराख्नुले यिनको पुस्तान्तरणसमेत हुन सकेको छैन ।
पछिल्लो समय पथरी शनिश्चरे–३ शान्ति टोलका महिलाहरू यी नाचको संरक्षण र पुस्तान्तरणमा लागिपरेका छन् । यहाँ रहेको ‘महिला जागरुक हरिकीर्तन तथा सँगिनी समूह’ले सँगिनी नाचको प्रचारप्रसारका साथै पुस्तान्तरणमा लागेका छन् । समूहले नयाँ पुस्तामा जानकारी दिन प्रत्येक हप्ताको मङ्गलबार साँझ सँगिनी प्रशिक्षण कार्यक्रम नै सुरु गरेको जनाएको छ ।
समूहले विगत ४ वर्षदेखि आफ्नै खर्चमा सँगिनी नाचबारे प्रशिक्षण दिँदै आएको छ । समूहमा आबद्धहरूलाई आमा, बुहारी र छोरी गरी तीन वटा समूह बनाइएका छन् । यी समूहले स्थानीयस्तरमा मात्रै होइन हाल मागअनुसार छिमेकी पालिकाहरूमा समेत सँगिनी नाचका नाच्ने गरेका छन् । मौलिक संस्कार र संस्कृतिको संरक्षण गर्दै प्रचारप्रसारमा लागिपरेको महिला जागरुक हरिकीर्तन तथा सँगिनी समूहलाई पुरुषहरुले समेत साथ दिन थालेका छन् । विवाह गरेर गएका महिलाहरुले आफ्ना मनमा लागेका वेदनाहरु गीतका माध्यमबाट पोख्ने ठाउँ नै हो सँगिनी ।
सँगिनी परापूर्वकालदेखि महिलाका सुखदुःखका साथै ढिकी, जाँतो पिस्दादेखि घरमा श्रीमान्, सासू, नन्द, देवर, जेठाजु र समाजमा भएका थिचोमिचोका बेदना बुहारी आमाहरूले गीतका माध्यमबाट पोख्ने गरेको बताए, समूहकी अध्यक्ष देवीमाया पोखरेल । ब्राह्मण र क्षेत्री समुदायमा नाचिने सँगिनीसँगै बालन पश्चिमा संस्कृतिको प्रभाव समाजबाट हराउँदै गएको उनको भनाइ छ ।
झन्डै डेढ दशकअघिसम्म गाउँघरमा सँगिनी र बालन नाच्ने गरे पनि पछिल्लो समय भने गाउँघरमा नाच्न छोडेको स्थानीय भुवनेश्वर पोखरेलले बताए । अचेल भने गाउँका थोरै महिलाहरू भेला भएर खेल्दै आएको सँगिनी नृत्यले संस्कार र संस्कृतिको संरक्षणमा टेवा पुर्याएको उनले बताए ।
कुनै समय नेपालमा निकै चर्चित मानिएको सँगिनी नाच पछिल्लो समय एकादेशको कथा जस्तै बन्न लागेको अवस्थामा स्थानीय समूह संरक्षणमा जुट्नु प्रशंसनीय रहेको पथरी शनिश्चरे–३ का शिक्षक खगेन्द्र लुइँटेलको भनाइ छ ।
पथरी शनिश्चरे–३ शान्तिटोलका ३५ परिवार यो कार्यमा सहभागी छन् । समूहलाई झापा, मोरङ र सुनसरीका क्षेत्रमा हुने धार्मिक समारोहमा सँगिनी प्रस्तुत गर्न निमन्त्रणा आउन थालेको छ । समूहकी सचिव यशोदा पोख्रेलले समूहले सँगिनी संरक्षणमा देखाएको कार्यको सबै क्षेत्रबाट प्रशंसा र सहयोग प्राप्त भइरहेको बताए ।
प्रशिक्षक ६८ वर्षीया नर्वदा खतिवडा मौलिक तथा परम्परागत नाचका रूपमा नाच्दै आएको सँगिनी विस्तारै हराउँदै गएपछि यस्तो अभियान सञ्चालन गर्नुपरेको बताए । समूहले नाच संरक्षणका लागि आमा पुस्ताबाट बुहारी र नातिनी पुस्तामा सिकाउने भनेपछि आफू पनि सिकेको सीप सिकाउन नियमित रूपमा समूहमा आउने गरेको उनले बताए ।
प्रतिक्रिया