बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
![](https://www.nepalkhoj.com/wp-content/uploads/2023/01/pakrau.jpg)
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी अछाम साँफेवगर नगरपालिका–३ घर भई काठमाडौं महानगरपालिका–३१ आलोकनगर बस्ने २० वर्षीय आकाश कुँवरलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत काठमाडौं बबरमहलको गत साउन २३ गतेको फैसलाले ४ लाख जरिवाना र १६ हजार रूपैयाँ क्षतिपूर्ति बापत पीडित राहतकोषमा जम्मा गराउने सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंबाट खटिएको प्रहरीले काठमाडौं मैतीदेवीबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुर पाटन पठाइएको छ ।
हत्या गरेको अभियोगमा पक्राउ
बुढीगंगा नगरपालिका–२ नडाङ सनइवाडा बस्ने हर्क सनइकी छोरी ८ वर्षीया विनिता नेपालीको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ४८ वर्षीय नन्दे सनइलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
नन्देले धारिलो हतियार प्रहार गरी विनिताको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बाजुरा समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
अवैध लागूऔषध गाँजा बरामद
पर्साको वीरगंज महानगरपालिका–२१ परवानीपुर हनुमान चोकबाट अवैध लागूऔषध गाँजा १२ किलो ५ सय ग्राम शुक्रबार बेलुकी प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी परवानीपुरबाट खटिएको प्रहरीले उक्त गाँजा फेला पारी बरामद गरेको हो ।
महोत्तरी, मनरासिस्वा नगरपालिका–९ बथनाहा गाउँबाट अवैध लागूऔषध गाँजा करिब ५ किलो ५ सय ग्राम शनिबार बिहान प्रहरीले बरामद गरेको छ ।
प्रहरी चौकी बथनाहाबाट खटिएको प्रहरीले उक्त स्थानमा रहेको बीआर ०६ सिएन ७५२८ नम्बरको मोटरसाइकल तलासी गर्दा बोरामा रहेको उक्त गाँजा फेला पारी बरामद गरेको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया