बजेट अभाव हुँदा खानेपानी आयोजना अलपत्र

कञ्चनपुर । जिल्लाको शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनिमा पाँच वर्षदेखि निर्माण सञ्चालन गरिएको खानेपानी आयोजना बजेट अभाव हुँदा सम्पन्न हुन सकेको छैन । खानेपानी आयोजना निर्माण अधुरो हुँदा स्थानीय असुरक्षित हेण्डपम्पको पानी पिउने बाध्य भएका छन् ।
गर्जमुनि खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष दीपेन्द्रकुमार भण्डारीले आयोजना निर्माण गर्न खानेपानी डिभिजन कार्यालय कैलालीबाट चार वर्षअघि ३४ लाख ८१ हजार पाँच सय ८० अनुदानबापत रकम प्राप्त भएको जानकारी दिए । उनका अनुसार सो रकमबाट ठेक्का प्रक्रियामार्फत पर्खाल, पालेघर तथा बोरिङ निर्माण गर्न २५ लाख रकम खर्च भएको छ ।
त्यसपछिका वर्षमा आयोजनाका लागि बजेट नआउँदा निर्माण अलपत्र परेको भण्डारीले बताए । पाँच सय १५ जना उपभोक्ताबाट अक्षयकोष स्थापनाका लागि रु एक हजार तीन सयका दरले छ लाख ६९ हजार पाँच सय रकम सङ्कलन गरिएको उनले जानकारी दिए ।
मुद्दती खातमा राखिएको अक्षयकोषको रकम हाल रु सात लाख ५८ हजार पुगेको छ । “सुरुको वर्ष आयोजना निर्माणका लागि जग्गा खोज्नमा बित्यो”, समितिका अध्यक्ष भण्डारीले भने, “त्यसपछिका तीन वर्ष कोरोना महामारीले काम अगाडि बढ्न सकेन, आयोजना निर्माणका लागि आवश्यक बजेट विनियोजन नहुँदा पछिल्ला वर्ष कामले तीव्रता पाउन सकेको छैन ।”
समितिले पूर्णता नपाउँदा पनि काम प्रभावित भएको अध्यक्ष भण्डारीले बताए । उनका अनुसार आयोजनाका लागि शिवशङ्कर माध्यमिक विद्यालयको चलनभोगमा रहेको पाँचकठ्ठा जग्गा प्राप्त भएको भन्दै सोही जग्गामा आयोजनाका संरचना निर्माण भइरहेका छन् ।
पक्की पर्खाल, पालेघर र एउटा बोरिङ गाड्ने कार्य पूरा भएको जानकारी दिँदै अध्यक्ष भण्डारीले अर्को बोरिङ गाड्ने, कार्यालय भवन, ओभरहेड ट्याङ्की, पाइपलाइन विस्तार र शौचालय निर्माण गर्न बाँकी रहेको बताए ।
अध्यक्ष भण्डारीका अनुसार चालु आवमा आयोजनाका बाँकी काम गर्न रु ४० लाख बजेट विनियोजन भएको छ । उक्त बजेटले बोरिङ गाड्ने कामबाहेक पाइपलाइन विस्तार, कार्यालय भवन र ट्याङ्की निर्माण गर्न नपुग्ने उनले उल्लेख गरे । अध्यक्ष भण्डारीले आयोजना सम्पन्न गर्न कूल रु नौ करोड ४६ लाख ३४ हजार छ सय ४० बजेट लाग्ने अनुमान गरिएको जानकारी दिए ।
आयोजना निर्माणका लागि खानेपानी उपभोक्ता तथा सरसफाइ समिति विसं २०७५ मा गठन भई विसं २०७६ मा जिल्ला जलस्रोत समितिबाट दर्ता प्रमाणपत्र प्राप्त भएपछि निर्माण थालिएको थियो ।








प्रतिक्रिया