त्रिविको जग्गा हिनामिना गर्नेलाई कारबाहीको दायरामा ल्याउने ओलीको प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय (त्रिवि)को जग्गा हिनामिना गर्नेलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीले बुधबार सामाजिक सन्जाल फेसबुकमार्फत (त्रिवि)को जग्गा हिनामिना गर्ने जो कोही भए पनि कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
त्रिविको जग्गा खोजबिन आयोगको प्रतिवेदन बुझेको भोलिपल्ट प्रधानमन्त्री ओलीले जग्गा त्रिवि मातहत ल्याउने र हिनामिना गर्नेलाई कारबाहीको दायरामा ल्याउने बताए ।
उनले फेसबुकमा लेखेका छन्, ‘खोजबिन आयोगले प्रतिवेदनमा सिफारिस गरेका तथ्यको थप अध्ययन गर्दै सरकारले यसलाई कार्यान्वयन गर्ने छ । त्रिभुवन विश्वविद्यालयको जग्गा विश्वविद्यालयकै नाममा ल्याइने छ र हिनामिना गर्ने जोकोही भए पनि कानुनी कारबाहीको दायरामा आउनेछन् ।’
त्रिविको जग्गा खोजबिन गर्न गठित समितिले मंगलबार प्रधानमन्त्री ओलीलाई प्रतिवेदन बुझाएको थियो ।
प्रतिक्रिया