‘शान्तिसुरक्षा हाम्रो पहिलो प्राथमिकता हो’

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय प्रमुख एवं प्रहरी नायब महानिरीक्षक (डिआइजी) राजन अधिकारीले शान्तिसुरक्षा, अमनचयन कायम गर्ने सवालमा कोही कसैसँग सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
आज यहाँ आयोजित पत्रकार भेटघाटका अवसरमा उनले आमनागरिकको जिउधनको सुरक्षासहित शान्ति सुव्यवस्था कायम गर्ने सन्दर्भमा कसैसँग सम्झौता नगर्ने स्पष्ट गरे ।
डिआइजी अधिकारीले अपराध रोकथाम तथा नियन्त्रण गर्ने क्रममा प्रदेश प्रहरी प्रमुखको हैसियतले प्रहरी प्रधान कार्यालयसँग गरिएको ४० बुँदे कार्यसम्झौताअनुसार प्रदेश मातहतका प्रहरी कार्यालय प्रमुखसँग आफूले कार्यसम्झौता गरिसकेको जानकारी दिए ।
लागुऔषध ओसारपसार, दुव्र्यसनी र खुला सीमाका कारण हुने तस्करीजस्ता आपराधिक घटना प्रहरीका लागि चुनौती भएको उल्लेख गर्दै उनले प्रदेशअन्तर्गतका आठ सय १५ वटै इकाईबाट कानुनको परिपालनासहित तोकिएको जिम्मेवारी पूरा गरिने बताए ।
शून्य सहनशीलताको नीतिअनुसार आमनागरिकलाई सबै सेवा प्रदान गर्न प्रहरी सङ्गठन तयार रहेको स्पष्ट गर्दै प्रदेश प्रहरी प्रमुख अधिकारीले भने ‘कानुनविपरीतका कामकाज तथा गतिविधि गर्न कसैलाई पनि छुट छैन, कानुनको अवज्ञा गरेमा सोहीअनुसार कारबाही भोग्न तयार हुनुपर्दछ, कानुन कार्यान्वयनमा प्रहरी सङ्गठनले कसैसँग पनि सम्झौता गर्दैन ।’ रासस








प्रतिक्रिया