‘संविधान संशोधनका लागि कार्यदलले काम गरिरहेको छ’

नेपालखोज २०८१ पुष १० गते १२:४३

काठमाडाैं । शहरी विकासमन्त्री प्रकाशमान सिंहले सबै राजनीतिक दलसँग छलफल गरेरै संविधान संशोधनको प्रक्रिया अघि बढाउने बताएका छन् ।

बुधबार रुपन्देहीको सियारी गाउँपालिकामा सियारी पर्यटन करिडोरको शिलान्यास र दयानगर दानव लिफ्ट सिँचाई योजनाको उद्‌घाटन पछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री सिंहले संविधान संशोधनका लागि कांग्रेस-एमालेको कार्यदल बनिसकेको बताएका हुन् ।

‘संविधान संशोधनको प्रक्रियालाई अगाडि बढाउन कांग्रेस र एमालेको कार्यदल गठन भइसकेको छ ।’, उनले भने, ‘कार्यदलले सबै राजनीतिक दलसँग छलफल गर्छ । सबै दलहरूसँग गरेर नै संविधान संशोधनको प्रक्रिया अगाडि बढ्छ ।’

पर्यटन करिडोर र लिफ्ट सिँचाई आयोजनाले सियारी गाउँपालिकाका नागरिकको आर्थिक अवस्था परिवर्तन गराउने उनले विश्वास व्यक्त गरे ।

उनले भने, ‘पर्यटन करिडोरले यहाँको पर्यटन प्रवर्द्धनमा योगदान पुग्ने छ भने लिफ्ट सिँचाईले यहाँको कृषि उत्पादन बढाउने र यहाँका कृषकको समृद्धिका लागि योगदान पुग्नेमा विश्वस्त छु ।’

नागरिकको जीवनमा परिवर्तन ल्याउन सियारी गाउँपालिकाले कृषि र पर्यटन क्षेत्रमा गरेको काम उदाहरणीय भएको भन्दै उनले प्रशंसा गरे ।

प्रतिक्रिया