मास्टर सेफ साहको सक्रियतामा गेट कलेजमा बोल्न र सुन्न नसक्नेलाई नि:शुल्क हस्पिटालिटी तालिम

काठमाडौं । बिबिसी मास्टर सेफ सन्तोष साहले बोल्न र सुन्न नसक्नेलाई लक्षित गरी हस्पिटालिटीसम्बन्धी नि:शुल्क तालिम दिने अभियान सुरुआत गरेका छन् ।
काठमाडौंका ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेसन (गेट)को भगिनी संस्था गेट पोल टेक्निक इन्स्टिच्युटसँगको सहकार्यमा साहले उक्त अभियान सुरु गरेका हुन् ।
यसका लागि विभिन्न सङ्घ-संस्था र व्यक्तिले हातेमालो गरेका थिए । मास्टर सेफ सन्तोष शाहले स्विजरल्याण्डमा च्यारिटी डिनर आयोजना गरेर आर्थिक सहयोग जुटाएका थिए ।
‘यो केवल सीप प्रदान गर्ने कुरा होइन, यो समावेशितालाई प्रवर्द्धन गर्ने विषय पनि हो,’ मास्टर सेफ साहले भने, ‘सही माग दर्शन र अवसर पाएमा अपाङ्गता भएका व्यक्तिले समाजलाई उल्लेखनीय योगदान दिन सक्छन् । यो केवल सुरुवात हो; हाम्रो प्रयासलाई अझ सशक्त बनाउनुपर्ने आवश्यकता छ ।’
बोल्न र सुन्न नसक्नेलाई लक्षित गरी उक्त कार्यक्रम ल्याइएको सेफ साहले जानकारी दिए । साहले अपाङ्गता भएकाहरूको क्षमता अभिवृद्धि तथा आत्मनिर्भर बनाउने उद्देश्यले अभियान सुरु गरिएको बताए । ‘यो हाम्रो पहिले देखिको योजना हो, जसअन्तर्गत पहिलो चरणअन्तर्गत तालिमप्राप्त जनशक्तिको आइतबार ग्र्याजुएसन भएको छ,’ उनले भने, ‘तालिमप्राप्त दक्ष जनशक्तिलाई रोजगारीका पनि सुनिश्चित पनि गर्छौ ।’
उनका अनुसार विस्तारित तालिम, हाउस कि पिङ, र बेकरी सञ्चालनलगायतका होटेल व्यवस्थापनका विभिन्न विधामा आवश्यक सीप हासिल गरेका ३१ जान् सहभागी थिए । सन् २०२४ को सुरुआतदेखि विभिन्न चरणमा गरी ३९० घण्टाको प्रशिक्षण प्राप्त बहिरा युवालाई दीक्षान्त प्रमाणपत्र प्रदान गरिएको हो । साहको सक्रियतामा यसअघि पनि जनकपुरस्थित मिथिला थालीमार्फत पनि यस प्रकारका कार्यक्रम हुँदै आएको उनले बताए ।
त्यस अवसरमा गेट पोल टेक्निक इन्स्टिच्युटका महाप्रबन्धक विवेक पौडेलले सुरुमा आफूहरूसँग दोभासे नभए पनि अहिले भने सजिलो भएको बताए । उनका अनुसार सन् २०२४ मा युनिसेफको सहकार्यमा ६ जना बहिरा युवालाई प्रशिक्षण दिन सुरु भए पनि कार्यक्रमले सफलता पाएसँगै कार्यक्रम विस्तार गरी वर्षको अन्त्यसम्म ३१ जनालाई नि:शुल्क तालिम प्रदान गरिएको हो ।
तालिममा सहभागी अनिल कुमार हमालले तालिमपछि सोही होटेलमा रोजगारी पाएको बताए ।

प्रतिक्रिया