राष्ट्रिय एकताका लागि समावेशी शासन प्रणाली आवश्यक छ : सञ्चारमन्त्री गुरुङ

नेपालखोज २०८१ पुष ११ गते १६:५१

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समावेशी समाज निर्माणले राष्ट्रिय एकता कायम गर्न महत्वपूर्ण भूमिका निवार्ह गर्ने बताएका छन् ।

सञ्चार मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा गोरखापत्र संस्थानले सुरु गरेको वाम्बुले राई भाषाको उद्घाटन गर्दै मन्त्री गुरुङले समावेशी सिद्धान्तलाई राजनीतिमा मात्रै नभइ समाजका हरेक क्षेत्रमा लागू गर्नुपर्ने बताए ।

हाम्रो संविधानले मुलुकका सबै क्षेत्रको प्रतिनिधित्व रहने इन्द्रेणीको जस्तै रङ्गीन एवं सहभागितामूलक समाजको परिकल्पना गरेकाले सोहीअनुसारको सङ्घीय शासन प्रणालीका पक्षमा समग्र राज्य एक हुनुपर्ने धारणा व्यक्त गरे ।

‘यो मुलुक सबैको साझा हो, समावेशीले हरेक समुदायमा अपनत्व महशुस गराउछ,’ उनले भने, ‘राष्ट्रिय एकताका लागि पनि देशमा समावेशी शासन व्यवस्था हुन जरुरी छ ।’

गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले सबै पक्षको अपनत्व महशुस होस् भन्ने उद्देश्यका साथ २०६४ सालदेखि सुरु भएको नयाँ नेपाल शीर्षकको बहुभाषी प्रकाशनअन्तर्गत अहिलेसम्म ४५ भाषाका समाचार सामग्री गोरखापत्रमा आउने गरेको जानकारी दिर् ।

प्रतिक्रिया