आज साँझदेखि अधिकांश स्थानमा हिमपात र वर्षाको सम्भावना

नेपालखोज २०८१ पुष १२ गते ६:४०

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीका कारण आज (शुक्रबार) दिउँसोदेखि देशका अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले बिहीबार विशेष सूचना जारी गरेर आज शुक्रबार दिउँसोदेखि भोलि शनिबारसम्म पानी पर्ने सम्भावना बढेको हो ।

क्रबार र शनिबार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका अधिकांश स्थानहरूमा तथा गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना रहेको विभागले जनाएको छ ।

साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका धेरै स्थानहरू र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा गण्डकी प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश र कोशी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

उक्त मौसम प्रणालीको असरले तापक्रम समेत घट्न गई चिसो बढ्न सक्ने सम्भावना रहेको समेत विभागले विशेष सूचनामार्फत् सूचित गरेको छ । ‘वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवन, स्वास्थ्य, पर्वतारोहण, हवाई÷यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउनु हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध छ’, विभागले भनेको छ ।

प्रतिक्रिया