वातावरणीय सन्तुलन राख्न आवश्यक छ : मुख्यमन्त्री आचार्य

काठमाडाैं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वातावरणीय सन्तुलन राख्न आवश्यक रहेकाे बताएका छन् ।
पाल्पाको वसन्तपुरमा प्राणी शास्त्रसम्बन्धी राष्ट्रिय सम्मेलनलाई सोमबार सम्बोधनमा मुख्यमन्त्री आचार्यले वातावरणीय सन्तुलन राख्न आवश्यक रहेकाले प्रदेश सरकारले हरेक क्षेत्रसँग सहकार्य गर्ने बताएका हुन् ।
‘वातावरणीय सन्तुलन जरुरी छ । यसका लागि लुम्बिनी प्रदेशमा यहाँहरूले गर्ने खोज अनुसन्धानबाट प्राप्त नतिजालाई आधार मानेर सरकारले आफ्ना नीति, कार्यक्रम बनाउँछ,’ मुख्यमन्त्री आचार्यले भने ।
उनले पारिस्थितिक प्रणालीलाई सन्तुलनमा राख्न प्रदेश सरकारले हरेक क्षेत्रबाट सहकार्य गर्ने बताए । उनले भने, ‘मानिस जीवनको अस्तित्व जोगाउन पनि पारिस्थितिक प्रणाली संरक्षण गर्न जरुरी छ ।’
मुख्यमन्त्री आचार्यले विकास र समृद्धिको आधारका रूपमा वातावरणीय क्षेत्र रहेकाले यसको संरक्षण र सदुपयोगबाट दिगो विकासको आधार निर्माण गर्न सकिने बताए ।

प्रतिक्रिया