‘सुदूरपश्चिमको विकासका लागि साझा संकल्प र प्रयास आवश्यक’

नेपालखोज २०८१ पुष १५ गते १६:४९

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशको बृहत्तर विकासका लागि चुनौतीको सामना र अवसरको सदुपयोग गर्न साझा संकल्प आवश्यक रहेकामा वक्ताले जोड दिएका छन् ।

यहाँको परशुराम नगरपालिकाको आयोजनामा आजदेखि सुरू भएको दुईदिने ‘पहिलो सुदूरपश्चिम मेयर सम्मेलन’ उद्घाटनसत्रका वक्ताले सङ्घीयताको मर्मअनुसार बढीभन्दा बढी लाभ लिनेगरी सबै एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले आवश्यकता धेरै तर स्रोत थोरै भएकाले सुदूरपश्चिम विकासमा समस्या रहेको बताए । यसैकारण आवश्यकताअनुसार योजना प्राथमिकीकरण गरी लगानी गर्न सबै पालिका प्रमुखलाई उनले आग्रह गरे । मन्त्री थापाले आगामी दिनमा प्रदेश सरकारले पनि प्राथमिकतामा आधारित योजनामा मात्रै लगानी गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नेपाली कांग्रेसका नेता डा. रणबहादुर रावलले कुल राजस्वमा सुदूरपश्चिमको योगदान दुई प्रतिशतभन्दा कम रहेकाले निश्चित अवधिसम्म यस क्षेत्रलाई सहुलियत दिनुपर्नेमा जोड दिए । उनले राज्यले दिएको स्रोत स्थानीय तहले पनि सही ठाउँमा र सही ढङ्गले प्रयोग गर्न आग्रह गरे ।

प्रतिक्रिया