पोशाक र दर्ज्यानी चिन्हको दुरुपयोग भए कारवाही गरिने

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले नेपाली सेना, नेपाल प्रहरी, र सशस्त्र प्रहरी बल, नेपालको पोशाक तथा दर्ज्यानी चिन्हको दुरुपयोग रोक्न सशक्त कदम चाल्ने भएको छ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमार्फत प्राप्त निर्देशनअनुसार, गृह मन्त्रालयको आदेश र प्रहरी महानिरीक्षकको सचिवालयको निर्देशनलाई कार्यान्वयन गर्दै यस विषयमा प्रष्ट निर्देशन जारी गरिएको छ।
गृह मन्त्रालयको २०८१ असोज १४ गतेको पत्र र प्रहरी महानिरीक्षकको सचिवालयको आदेशका आधारमा, प्रचलित कानुन अनुसार सरकारी वा गैरसरकारी निकाय, संघ–संस्था, तथा अन्य कुनै पनि व्यक्तिले नेपाल प्रहरी, नेपाली सेना, र सशस्त्र प्रहरी बलसँग मिल्दोजुल्दो पोशाक वा दर्ज्यानी चिन्ह प्रयोग नगर्नरनगराउन सूचित गरिएको छ।
यस निर्देशना उल्लङ्घन गर्नेहरूलाई प्रचलित कानुनअनुसार कारवाही गरिने चेतावनी समेत जारी गरिएको छ।
प्रहरी नायब उपरीक्षक सन्तोष पाठकद्वारा हस्ताक्षरित पत्रमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूमार्फत कानुनी प्रक्रिया अपनाउन आवश्यक निर्देशनसमेत प्रदान गरिएको छ ।
नेपाल प्रहरीले यस कदममार्फत सुरक्षा निकायको गरिमा र पहिचानको संरक्षण सुनिश्चित गर्ने प्रयास गरेको छ।



प्रतिक्रिया