‘प्रजातन्त्र सेनानीको सक्रियताले नेपालमा परिवर्तन सम्भव’

महेन्द्रनगर (धनुषा) । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले प्रजातन्त्र सेनानीको सक्रियताका कारण नेपालमा परिवर्तन सम्भव भएको बताएका छन् ।
नेपाली जनताले आजसम्म जे जति अधिकार प्राप्त गरेका छन् त्यसमा प्रजातन्त्र सेनानीको भूमिका रहेकोे उनले उल्लेख गरे । जनकपुरधाममा आज नेपाल प्रजातन्त्र सेनानी सङ्घ मधेश प्रदेशको प्रथम प्रदेश अधिवेशनको उद्घाटन गर्दै नेता निधिले राणा शासनलाई समाप्त पारेर संवैधानिक राजतन्त्र र संसदीय प्रणाली ल्याइएको बताए ।
निरङ्कुश राजतन्त्र र निर्दलीय पञ्चायती व्यवस्था फालेर बहुदलीय प्रणाली स्थापनामा प्रजातन्त्र सेनानीहरुको सक्रिय, सजग, दूरदर्शी र नेतृत्वदायी भूमिका रहेको नेता निधिले बताए । ‘प्रजातन्त्र सेनानीको सक्रिय भूमिकाबिना नेपालमा परिवर्तन सम्भव थिएन,’ उनले भने । प्रजातन्त्र सेनानीहरु क्रान्तिकारी, आन्दोलनकारी र सङ्घर्षशील हुने गरेको तथा परिवर्तनको पक्षमा काम गर्दैआएको उनको भनाइ थियो ।
सरकारले प्रजातन्त्र सेनानीको पक्षमा एउटा आयोग गठन गर्नुपर्ने नेता निधिले बताए । ‘पुरानो पुस्ताका बारेमा थोरै पनि जानकारी राख्न सक्यौँ भने आफ्नो भावी पुस्तालाई हस्तान्तरण गर्न सक्छौँ । भावी पुस्तालाई पूर्वजहरुको इतिहास हस्तान्तरण नगरिए प्रजातन्त्र सेनानीको उपलब्धिबारे कसैले कुनै चासो र चिन्ता व्यक्त गर्दैनन,’ उनले भने । नेता निधिले वर्तमान संविधानका कतिपय विषयमा संशोधनको आवश्यकता रहेको बताए ।

प्रतिक्रिया