केनेल क्लबको आयोजनामा तेस्रो ’बाइरो ब्रिड च्याम्पियनसिप डग शो’ माघ ५ मा हुने

काठमाडौं । नेपालमा तेस्रो पटक कुकुर नस्ल सुधार र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम गुणस्तरीय कुकुर उत्पादन गर्ने उद्देश्यले केनेल क्लब अफ नेपालले बाइरो च्याम्पियनसीप डग शो’ आयोजना गर्ने भएको छ ।
क्लबका सचिव बिबेश श्रेष्ठले आउँदो माघ ५ गते ललितपुरको जाउलाखेल फुटबल ग्राउन्डमा उक्त शोको आयोजना हुने बताएका छन् । यो पहलले उच्च गुणस्तरका कुकुरको उत्पादन, नस्ल सुधार, र कुकुरपालकको प्रोत्साहनमा महत्त्वपूर्ण भूमिका खेल्ने उनले बताएका छन ।
श्रेष्ठका अनुसार यसपटकको च्याम्पियनसिप शोमा पहिलो र दोस्रो शोको तुलनामा सहभागी कुकुरको संख्या बढ्ने अनुमान गरिएको छ। अघिल्लो दुई शोमा ३५ जातका कुकुरले प्रतिस्पर्धा गरेका थिए, जसमा १५३ उच्च गुणस्तरका कुकुरले भाग लिएका थिए ।
यसपटकको प्रतियोगितामा हस्की, जर्मन शेफर्ड, गोल्डेन रिट्रिबर, पग, ल्याब्रोडर, डालमेशियन, सेन्ट बनोर्ड, इंग्लिश ककर स्पानियल, नियपोलिटन मास्टिफ, डोबर्मन, बिगल, पोमेरिनियन जस्ता थुप्रै प्रजातिका कुकुरले सहभागी हुने आयोजकले जनाएको छ भने कुकुरका लागि अनिवार्य रूपमा भ्याक्सिन लगाइएको हुनुपर्नेछ ।
साथै, कुकुरको स्वास्थ्य अवस्था दक्ष पशु चिकित्सकद्वारा परीक्षण गरिनेछ, र केवल तीन महिनाभन्दा माथिका उमेरका कुकुरलाई मात्र शोमा सहभागी गराइने आयोजकले जनाएको छ । यसमा एक मात्र अन्तर्राष्ट्रिय मान्यता प्राप्त जज संजय गुरुङ रहेका छन् ।
सहभागी कुकुरले पहिले आफ्नो जातभित्र प्रतिस्पर्धा गर्ने र जसमा उत्कृष्ट ठहरिएका कुकुरले अर्को चरणमा प्रतिस्पर्धा गर्ने अवसर पाउने छन् र त्यसपछि अन्तर्राष्ट्रिय मान्यता प्राप्त जजको टोलीले उत्कृष्ट कुकुरको छनोट गर्ने क्लबका सचिव श्रेष्ठले जानकारी दिए ।
कुकुरको नश्ल सुधार गर्ने र उन्नत जातको कुकुर उत्पादन गर्न सहयोग र्पुयाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको सचीव श्रेष्ठले बताए । ‘डग शो’ बाट कुकुर च्याम्पियन भएपछि वल्र्ड केनल युनियनमा आवद्ध भएका सबै देशमा उक्त कुकुरले प्रतिस्पर्धा गर्न पाउँछ र साथै उसको बच्चासमेत च्याम्पियनको उपाधिले चिनिन्छ । त्यस्तो च्याम्पियनको बच्चा अन्य कुकुर भन्दा मंहगोमा बिक्री हुन्छ ।
उक्त शोले कुकुरको पुर्खा, रोग प्रतिरोध क्षमता, र उत्पादन क्षमताको रेकर्ड राख्ने उद्देश्यले ब्रिड क्लबको स्थापना गरेको छ। यसले नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा पनि कुकुर नस्ल सुधार र पशु व्यवस्थापनको क्षेत्रमा ठूलो योगदान र्पुयाउने अपेक्षा गरिएको छ ।
विश्वव्यापी रूपमा कुकुर च्याम्पियनसिप शोको परम्परा सन् १७७३ बाट सुरु भएको मानिन्छ । नेपालमा यस प्रकारका शोको निरन्तर आयोजना हुनु देशको कुकुर नस्ल सुधारमा मात्र नभई पशुपालन व्यवसायलाई प्रोत्साहित गर्न पनि महत्त्वपूर्ण मानिएको छ ।
यो च्याम्पियनसिप शोले नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गर्न र भविष्यमा गुणस्तरीय नस्लका कुकुरको उत्पादनमा मार्गप्रशस्त गर्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया