३०३औँ पृथ्वी जयन्ती : कुन नेताले के भने ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहका दिव्योपदेश अर्थतन्त्र निर्माण, राष्ट्रप्रेम, छिमेकी राष्ट्रसँग कूटनैतिक सम्बन्ध निर्माणका लागि मार्गदर्शक भएको बताएका छन् । राष्ट्रिय एकता दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै उहाँले स-साना राज्यमा छरिएर रहेको नेपाल हालको अवस्थासम्म आइपुग्न हाम्रा धेरै पूर्वजहरूले पु¥याएको योगदानलाई हामीले बिर्सन हुँदैन स्पष्ट गरेका छन् ।
‘पृथ्वीनारायण शाहले स–साना टुक्रामा छरिएर रहेका राज्यहरूलाई एकीकरण गरेर आधुनिक नेपाल राष्ट्रको निर्माण गरेको र सो अभियानलाई इतिहासको विभिन्न कालखण्डमा हाम्रा वीर पुर्खाहरूले निरन्तरता दिएको कारणले हामीले आज सार्वभौम र स्वतन्त्र नेपाल भनेर गर्व गर्न पाएका छौँ,’ राष्ट्रपति पौडेलले आफ्नो सन्देशमा भने, ‘यही आधारभूमीमा टेकेर हामीले नेपाललाई स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य भनेर घोषणा गरिसकेका छौँ । स–साना राज्यमा छरिएर रहेको नेपाल हालको अवस्थासम्म आइपुग्न हाम्रा धेरै पूर्वजहरूले पु¥याएको योगदानलाई हामीले बिर्सन हुँदैन ।’
पृथ्वीनारायण शाहलाई सम्झना गर्दा उहाँको दिव्योपदेशको पनि सम्झना गर्नुपर्नेमा जोड दिँदै राष्ट्रपति पौडेलले लोकप्रिय र सान्दर्भिक दिव्योपदेशहरू अर्थतन्त्र निर्माण, राष्ट्रप्रेम, छिमेकी राष्ट्रहरूसँग कूटनैतिक सम्बन्ध निर्माणमा मार्गदर्शकको रूपमा रहेको बताएका छन् ।
‘राष्ट्रिय एकता दिवसको यस अवसरले हाम्रो मुलुकको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय एकतालाई अक्षुण्ण राखी जनताको सुख र समृद्धि हासिल गर्न सबैमा प्रेरणा प्रदान गरोस्,’ राष्ट्रपति पौडेलले भनेका छन्, ‘नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०३ औँ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा उनीप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।’
उपराष्ट्रपति रामसहायप्रसाद यादव
उपराष्ट्रपति रामसहायप्रसाद यादवले मुलुक एकजुटताका साथ अघि बढ्न सके सबै क्षेत्रले द्रुत विकासको गति लिन सक्ने विश्वास व्यक्त गरेका छन् । राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै उनले एकताको सूत्रमा बाँधिएको मुलुक आर्थिकरूपमा थप सुदृढ र बलियो बन्न सक्नेमा जोड दिए ।हरेक वर्षको पुस २७ मा राष्ट्रिय एकता दिवस, पृथ्वी जयन्तीका रूपमा पनि मनाइन्छ । यो दिवस नेपालको विविधतामा एकतालाई बलियो बनाउन र मुलुकको एकीकरणमा योगदान पुर्याउनेलाई सम्झिने दिनको रूपमा पनि हेरिन्छ । उपराष्ट्रपति यादवले सिङ्गो नेपालीलाई एकताको सूत्रमा बाँध्न र राष्ट्रिय एकताको भावनालाई थप मजबुत बनाउन दिवसले एउटा मञ्च प्रदान गर्ने जनाउँदै नेपालको विविधतायुक्त संस्कृति, वेशभूषा, भाषा र धर्महरूको बीचमा एकताको उत्सव मनाउने महत्वपूर्ण अवसर भएको बताए ।
पूर्वराष्ट्रपति भण्डारी
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय एकता दिवस तथा ३०३औँ पृथ्वी जयन्तीको अवसरमा शुभकामना व्यक्त गरेकी छन् । शनिबार सामाजिक सञ्जाल ट्वीटर पेजमा लेख्नु हुँदै पूर्वराष्ट्रपति भण्डारीले तत्कालीन गोरखा राज्यका राजा, आधुनिक नेपाल एकीकरण अभियानका नायक पूर्वराजा पृथ्वीनारायण शाहको ३०३औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गरेकाी हुन् । ‘राष्ट्रिय एकता दिवसले नेपाल एकीकरण अभियानको गौरवमय इतिहासको स्मरण गराउँदै राष्ट्रिय एकता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको अनवरत रक्षा तथा सुदृढीकरण गरी ‘समृद्ध नेपाल सुखी नेपाली’ को साझा राष्ट्रिय सङ्कल्पलाई साकार पार्न एकजुट भई अगाडि बढ्न हामी सबैलाई प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास लिएको छु’, उनले ट्वीटर पेजमा लेखेकी छन् ।

प्रतिक्रिया