अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ

नेपालखोज २०८१ पुष २८ गते १३:५३

काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिका–२० सानो खैरेबाट अवैध लागूऔषध गाँजा १६ किलोग्राम सहित सोही उपमहानगरपालिका–२० चिण्डेडाँडा बस्ने २३ वर्षीय अर्जित लिम्बु र धनकुटा साँगुरीगढी गाउँपालिका–८ बस्ने २९ वर्षीय विवेक राईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट विष्णुपादुकाबाट खटिएको प्रहरीले को.२४ प ३८९२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

कैलालीको टीकापुर नगरपालिका–२ विजयनगरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४० मिलिग्राम सहित सोही नगरपालिका–१ बस्ने २५ वर्षीय श्याम चौधरी समेत २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी कैलालीको गोदावरी नगरपालिका–१ भगतपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय १० मिलिग्राम सहित सोही नगरपालिका–१ बस्ने २९ वर्षीय वीरेन्द्र चौधरीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय अत्तरियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलालीको धनगढी उपमहानगरपालिका–३ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय २० मिलिग्राम सहित गोदावरी नगरपालिका–३ बस्ने ३४ वर्षीय दीपक चदारालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको छ ।

यसैगरी कैलालीको धनगढी उपमहानगरपालिका–४ बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्राम सहित दार्चुला व्यास गाउँपालिका–६ खातीगाउँ बस्ने २६ वर्षीय रवीन्द्र सिंह भण्डारीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

कपिलवस्तुको मायादेवी गाउँपालिका–४ चाकरचौडाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम सहित रूपन्देही सैनामैना नगरपालिका–८ बासगढी बस्ने ३८ वर्षीय बाबुलाल मल्लाह र कपिलवस्तु बाणगंगा नगरपालिका–१ गजेहडा बस्ने २२ वर्षीया निरू मल्ल ठकुरीलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चाकरचौडा समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

मोरङको धनपालथान गाउँपालिका–३ डकुवाडाँडा बस्ने चन्द्रदेव मण्डललाई अवैध लागूऔषध गाँजा २५ किलोग्राम सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब १ सय १ किलोग्राम सहित पर्सा वीरगंज महानगरपालिका–२६ अठराह सुगौली बस्ने २० वर्षीय राजन राउत कुर्मीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातमाटेबाट खटिएको प्रहरीले चितवनबाट वीरगंजतर्फ जाँदै गरेको डिएल १३ सि १५६१ नम्बरको कारलाई जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा फेला पारी चालक राजनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

भरूवा बन्दुक सहित पाँच जना पक्राउ

धरान उपमहानगरपालिका–१९ हरियाली चारकोसे जंगलबाट १ थान भरूवा बन्दुक, भरूवा बन्दुकमा लाग्ने फलामको गोली ३ थान, टोटा बन्दुकको गोली २ थान, बारूद र खुकुरी १ थान सहित इटहरी उपमहानगरपालिका–१३ बस्ने ३५ वर्षीय ज्योतिष चौधरी समेत ५ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले धरानबाट रासतालतर्फ जाँदै गरेको बा.४ च ४३३ नम्बरको कारलाई जाँच गर्दा उक्त हातहतियार फेला पारी कारमा सवार उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

एक थान भरूवा बन्दुक बरामद

नमोबुद्ध नगरपालिका–५ दारेगौडास्थित जंगलबाट १ थान भरूवा बन्दुक शनिबार दिउँसो प्रहरीले बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रे र प्रहरी चौकी कानपुरबाट खटिएको प्रहरीले वेवारिसे अवस्थामा रहेको उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

करिब ८ सय २ किलोग्राम गाँजा बरामद

सप्तरीको बलान बिहुल गाउँपालिका–१ बलानपट्टीस्थित खेतबाट अवैध लागूऔषध गाँजा करिब ६ सय ७० किलोग्राम शनिबार राति प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी मौवहाबाट खटिएको प्रहरीले परालभित्र प्लाष्टिकको २४ वटा पोकामा लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो ।

पर्साको वीरगंज महानगरपालिका–२४ बहुअरीबाट अवैध लागूऔषध गाँजा १ सय ३२ किलोग्राम शनिबार दिउँसो प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उक्त स्थानमा रोकी राखेको बिआर ०१ जिएल ३९२८ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

पर्साको वीरगंज महानगरपालिका–१७ अलौगाँउस्थित सडकमा ना.६ त ३३४ नम्बरको ट्याक्टरबाट लडेर जगरनाथपुर गाउँपालिका भिखमपुर पिपरा बस्ने ४५ वर्षीय शिव कुमार कुर्मीको शनिबार दिउँसो मृत्यु भएको छ । ट्याक्टरबाट लडेर गम्भीर घाइते भएका उनको नारायणी अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चितवनको रत्ननगर नगरपालिका–१० स्थित सडकमा बा.प्र.०६–००२ प ४८६७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ९० वर्षीय बैकुण्ठनाथ लम्सालको शनिबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा थप उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पाल्पाको तानसेन नगरपालिका–११ सामाकोटस्थित सडकमा लु.२ ख ५६१८ नम्बरको फोर्स गाडीको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४६ वर्षीया सीता गहतराजको शनिबार बेलुकी मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया