लागूऔषधसहित दुईजना पक्राउ

काठमाडौं । बाँकेको नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ७ सय ६० मिलिग्राम सहित कोहलपुर नगरपालिका-६ बस्ने २२ वर्षीय अर्जुन थारूलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
कञ्चनपुरको बेलौरी नगरपालिका-८ पचुईबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ३ सय १० मिलिग्रामसहित कैलाली गोदाबरी नगरपालिका-२ तेघरी बस्ने २१ वर्षीय कमल खड्कालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ
बर्दगोरिया गाउँपालिका–३ खैरेनी बस्ने ३४ वर्षीय जिवन खत्रीको घरमा जुवातास खेलिरहेको अवस्थामा खत्री समेत ११ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६२ हजार ८ सय ५५ रूपैयाँ र १० थान मोवाइल सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
अवैध लागूऔषध चरेश र गाँजा बराम
पर्साको वीरगंज महानगरपालिका–१६ गणेश टोलबाट अवैध लागूऔषध चरेश जस्तो देखिने वस्तु करिब १९ किलो ५ सय ग्राम आइतबार बेलुकी प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी गणेशटोलबाट खटिएको प्रहरीलाई देख्नासाथ अपरिचित व्यक्तिले १ वटा बोराको पोका सडकमा फाली फरार भएपश्चात बोरा तलासी गर्दा उक्त परिमाणको वस्तु फेला पारी बरामद गरेको हो । प्रहरीले हाल फरार व्यक्तिको खोजी गरिरहेको छ ।
उदयपुरको बेलका नगरपालिका–७ मैनामैनीस्थित बिलिम्लाबाट अवैध लागूऔषध गाँजा करिब ५० किलोग्राम गए राति प्रहरीले बरामद गरेको छ । अस्थायी प्रहरी पोष्ट मैनामैनीबाट खटिएको प्रहरीले वेवारिसे अवस्थामा रहेको उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
मकवानपुरको मनहरी गाउँपालिका–६ नयाँबस्तीस्थित सडकमा मनहरी बजारबाट नयाँबस्तीतर्फ जाँदै गरेको मनहरी बिलिभर्स इङ्लिस बोर्डिङ स्कुलको ना.१ क ९२५० नम्बरको बसको ठक्करबाट सोही ठाउँ बस्ने खडक बहादुर थिङकी छोरी २ वर्षीया पुजा थिङको आइतबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बाँकेको जानकी गाउँपालिका–३ इन्द्रपुरस्थित सडकमा इन्द्रपुरबाट कर्मौनातर्फ जाँदै गरेको भे.१ त ९८२६ नम्बरको ट्याक्टर आइतबार साँझ दुर्घटना हुँदा ट्याक्टरका सहचालक नेपालगंज उपमहानगरपालिका–१६ जयसपुर बस्ने २८ वर्षीय रफिक जोलाहको घटनास्थलमै मृत्यु भएको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
धनुषाको सबैला नगरपालिका–१० सिमराढीस्थित सडकमा बा.प्र.०१–०२७ च ८२२९ नम्बरको कार र ज.११ प ७७९६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई आइतबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक सबैला नगरपालिका–९ भठियन बस्ने २१ वर्षीय अमन कुमार साहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई थप उपचारको लागि न्यूरो अस्पताल जनकपुरतर्फ पठाइएको छ । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रूपन्देहीको रोहिणी गाउँपालिका–३ रामनगरस्थित सडकमा युपि ५५ डि ६९५८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार भारत महाराजगंज प्रशामलिक थाना ग्रामपोष्ट बस्ने २६ वर्षीय राजेन्द्र चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
कपिलवस्तुको बुद्धभुमि नगरपालिका–२ बड्हरा पुल नजिक सडकमा बा.प्र.०३–००१ ख २२२० नम्बरको ट्रकले लु.९१ प ३१४३ नम्बरको मोटरसाइकललाई सोमबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक कपिलवस्तु बुद्धभुमि नगरपालिका–२ गोरूसिंगे बस्ने २० वर्षीय अर्जुन थारूको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
पोखरीया नगरपालिका–९ बैरिया बस्ने राज कुमार मुखियाले आफ्नै घरमा म.प्र.०३–००१ ह १३३९ नम्बरको अटो रिक्सा चार्ज गर्ने क्रममा विद्युत सर्ट भई गए राति आगलागी हुँदा अटो रिक्सा, साईकल १ थान, अन्नपात तथा घर जलेर करिब ६ लाख ५५ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया