विपिनको रिहाइबारे परराष्ट्रमन्त्रीद्वारा इजरायली विदेशमन्त्रीसँग फोनवार्ता

नेपालखोज २०८१ माघ १ गते २१:०२

काठमाडौं । हमास अतिवादी समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि परराष्ट्र मन्त्री डा आरजु राणा देउवाले आज साँझ इजरायलका विदेशमन्त्री गिडियन सारसँग पनि फोनवार्ता गरेकी छन् ।

हमासले आफ्नो नियन्त्रणमा रहेकामध्ये केहीलाई मुक्त गर्न लागेको समाचार आएपछि परराष्ट्रमन्त्री डा राणाले विपिनको रिहाइका लागि पहल गरिदिन विदेशमन्त्री सारमार्फत् इजरायल सरकारसँग आग्रह गरेकी हुन् ।

फोनवार्तामा मन्त्री डा. राणाले इजरायल सरकारले विपिनसहित सबै बन्दीका पक्षमा निर्वाह गरिरहेको भूमिकाका लागि धन्यवाद दिँदै नेपाली युवा विपिनलाई हमासको नियन्त्रणबाट मुक्त गराउन पहल गर्नका लागि विशेष आग्रह गरेकी थिइन् ।

त्यस अवसरमा मन्त्री सारले विपिनको सकुशल रिहाइका लागि इजरायल सरकारले अधिकतम प्रयास गरिरहेको जानकारी मन्त्री डा राणालाई गराएका थिए ।

साथै विदेशमन्त्री सारले आज बिहान परराष्ट्रमन्त्री डा राणाले कतारका विदेश राज्यमन्त्री डा मोहम्मद बिन अब्दुलाजिज अल–खुलाइफीसँग कुराकानी गरेकामा खुसी व्यक्त गरेकी थिइन् ।

मन्त्री अल–खुलाइफी हमाससँगको शान्तिवार्ताका प्रमुख वार्ताकार एवं मध्यस्थकर्ता भएकाले उनको भूमिका महत्वपूर्ण रहेको इजरायली विदेशमन्त्रीको भनाइ थियो । आज बिहान मन्त्री डा राणाले कतारका विदेश राज्यमन्त्रीसँग फोनवार्ता गरी सोही आग्रह गरेकी थिइन् ।

हमास समूहले केही बन्दी रिहा गर्न लागेको समाचारपछि मन्त्री डा राणाले इजरायल सरकार र हमाससँग सम्पर्कमा रहेर युद्धविरामका लागि मध्यस्थता गरिरहेका कतार र इजिप्टसँग सम्पर्क गरी विपिनको रिहाइका लागि अपिल गरिरहेकी छन् ।

गत हप्तामात्र उनले इजिप्ट सरकारसँग पनि सो आग्रह गरेका थिए । विपिनको रिहाइका लागि नेपाल सरकारले आफ्नो कूटनीतिक प्रयासलाई जारी राखेको छ ।

मन्त्री डा राणाले संयुक्त राष्ट्रसङघ, अन्तर्राष्ट्रिय एवं क्षेत्रीय मञ्चहरू र बैठकहरूमार्फत विपिनको रिहाइका लागि आग्रह गर्दै आएका थिए । रासस

प्रतिक्रिया