न्यूनतम् पारिश्रमिक वृद्धि गरिनुपर्नेमा पत्रकारको जोड

खोटाङ । पत्रकारको न्यूनतम पारिश्रमिक समयानुकूल वृद्धि गरिनुपर्नेमा यहाँका पत्रकारले जोड दिएका छन् ।
न्यूनतम् पारिश्रमिक निर्धारण समितिले आज दिक्तेलमा आयोजना गरेको श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अवस्था र ऐन संशोधन विषयक अन्तरक्रिया कार्यक्रमका सहभागी पत्रकारले न्यूनतम पारिश्रमिक समयानुकूल संशोधन गरेर वृद्धि गरिनुपर्ने बताएका हुन् ।
कार्यक्रममा सहभागी वरिष्ठ पत्रकार एवं प्रेस स्वतन्त्रता सेनानी कृष्ण आचार्यले न्यूनतम पारिश्रमिक निर्धारण समितिले मोफसलमा रहेर पत्रकारिता गरिरहेका पत्रकारलाई समेत सम्बोधन गर्नेगरी ऐन संशोधन गर्नुपर्ने बताए ।
अन्तरक्रियालाई सम्बोधन गर्दै समितिका सदस्य टेनिस रोकाले पत्रकारको न्यूनतम पारिश्रमिक निर्धारण गर्ने जिम्मा नेपाल सरकारको भएकाले कार्यक्रममा उठेका विषयहरुलाई सम्बन्धित ठाउँमा पुर्याएर सम्बोधन गराउने प्रतिबद्धता जनाए ।
उनले भने, ‘तपाईँहरूले दिनुभएको सुझाव तथा गुनासालाई समेटेर प्रतिवेदन तयार पार्छौँ । हामीले तयार पारेको प्रतिवेदन सम्बन्धित निकायमा बुझाएर कार्यान्वयन गर्न लगाउँछौँ ।’
नेपाल पत्रकार महासङ्घ जिल्ला शाखासँगको सहकार्यमा अन्तरक्रिया आयोजना गरिएको हो । यसैबीच, नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाले पत्रकार महासङ्घको उपत्यका प्रदेश अध्यक्षमा निर्वाचित टेनिस रोकालाई सम्मान गरेको छ । -रासस

प्रतिक्रिया