चितवनमा मोटरसाइकल चालकलाई शुभयात्रा अभियान

नेपालखोज २०८१ माघ ५ गते ११:४८

चितवन । सवारी दुर्घटना कम गर्नका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले मोटरसाइकल चालकलाई शुभयात्रा अभियान सुरु गरेको छ । भरतपुर महानगरपालिका-१० का अध्यक्ष परमेश्वर खनाल र जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले संयुक्त रुपमा अभियानको शुभारम्भ गरेका हुन् ।

जिल्लामा भएका दुर्घटनामा अत्यधिक सङ्ख्यामा मोटरसाइकल पर्ने गरेकाले मोटरसाइकल चालकलाई सुरक्षित यात्रा गर्न उत्तप्रेरित गर्ने उद्देश्यले अभियान सुरु गरिएको हो । अभियानका क्रममा ट्राफिक प्रहरीले मोटरसाइकल चालकलाइ ‘शुभ-यात्रा मात्रै नभनी नमस्कार, आरामै , पछिल्लो समयमा मोटरसाइकल दुर्घटनाको सङ्ख्या बढी भएका कारण उक्त दुर्घटना न्यूनीकरणका लागि हामीले तपाईंहरूलाई सुरक्षित यात्राको कामना गर्दै तपाईंहरुको विवरण समेत राख्छौ, कृपया बिस्तारै चलाउनुस्, हेलमेट लगाउनुस्, नशालु पदार्थको सेवन गरेर सवारी नचलाउनु होला, जीवन अमूल्य छ, शुभयात्रा’ जस्ता शब्द भन्ने गर्दछन् ।

कार्यालयका प्रमुख प्रहरी निरीक्षक गायत्रीराज शर्माका अनुसार लामो तथा छोटो दुरीमा यात्रा गर्ने हरेक मोटरसाइकल चालकलाई सडक छेउमा रोकेर यो सन्देश प्रवाह गर्नेछन् । जिल्लामा दुर्घटनामा संलग्न सवारी साधनमध्ये ५८ दशमलव ६७ प्रतिशत मोटरसाइकल हुने गरेको प्रहरीको भनाइ छ ।

चालु आर्थिक वर्षमा भएका ४०६ वटा दुर्घटनामा छसय सात वटा सवारी साधन दुर्घटनामा परेकामा ३५६ वटा दुईपाङ्ग्रे सवारीसाधन छन् । ती दुर्घटनामा परी जिल्लामा ६३ जनाको मृत्यु भएको छ भने सातसय १८ घाइते भएका छन् ।

कार्यक्रममा वडाध्यक्ष खनाल र जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख गौतमले दुर्घटना न्यूनीकरणका लागि यस्ता कार्यक्रम प्रभावकारी बन्ने बताए । सवारी दुर्घटनामा अत्यधिक सङ्ख्यामा दुईपाङ्ग्रे सवारी साधन पर्ने गरेको बताउँदै उनीहरुले दुई पाङ्ग्रे सवारी साधनको चालक बढी सतर्क हुन आबश्यक रहेको बताए ।

प्रतिक्रिया