जरलहवागाछीमा छ डिपट्युबेल सञ्चालन हुँदा खानेपानी समस्या हट्यो

नेपालखोज २०८१ माघ ८ गते ७:०२

महोत्तरी । खानेपानीको समस्या खेप्दै आएका यहाँस्थित मटिहानी–६ जरलहवागाछी बस्तीका अग्निपीडितले १० महिनापछि बल्ल राहत पाएका छन् । बस्तीमा सोमबार एकसाथ छवटा डिपट्युबेल सञ्चालनमा आएपछि अग्निपीडितले आफ्नै घरआँगन नजिक खानेपानीको सहुलियत पाएका हुन् ।

मटिहानी नगरपालिका र रतौली युवा क्लबले जडान गराएका डिपट्युबेल सञ्चालनमा आएका हुन् । ‘आगलागी घटनायता खानेपानीको अप्ठ्यारो थियो’, अग्निपीडित बस्तीकी गृहिणी मैमुन खातुनले भने, ‘आगलागी घटनाको १०औँ महिनामा बल्ल खानेपानीको सजिलो भयो ।’

सो बस्तीमा गत वैशाख १२ गते बुधबार भएको आगलागीमा एक सय तीन घर जलेर पूरै खरानी बनेका थिए । सञ्चालनमा आएका छवटै डिपट्युबेलबाट पानी मज्जाले आएपछि खानेपानी समस्या अन्त्य भएको सो बस्तीकी अर्की गृहिणी हसिना खातुन बताउँछन् ।

बस्तीका आगलागीपीडितले खानेपानीको प्रबन्धमा अलि ढिलो भए पनि दुःख परेका बेला टाढाटाढाबाट सहयोग लिएर आउनेको बलमै आफूहरू बौरिएको बताउँछन् ।

अरु प्रबन्ध मान्छेकै सहयोगले तत्काल जुट्दै गए पनि खानेपानीका लागि भने अलि लामो समय कुर्नुपरेको त्यहाँका बासिन्दाको प्रतिक्रिया छ । अग्निपीडित बस्तीमा खानेपानीको प्रबन्धका लागि डिपट्युबेल जडान गर्ने आर्थिक स्रोत जुटाइदिने र सोको पहलकदमी लिइदिने संस्थाप्रति मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डलले आभार व्यक्त गरे ।

बस्तीका वरिपरि छ ठाउँ जडान भएका डिपट्युबेल सो बस्तीका कुनै पनि घरबाट एक मिनटभन्दा बढीको दूरीमा नरहेका मण्डलले बताए ।

आर्थिक स्रोत जुटाइदिने ट्रिङ्गल जेनेरेसन हुमेनिटायर र सोको समन्वय गर्ने रतौली युवा क्लबले अग्निपीडित बस्तीमा आवश्यक थप सहयोगका लागि पहलकदमी लिने प्रतिबद्धता जनाएका छन् । दुवै संस्थाको प्रतिबद्धताले आफूहरूलाई निकै भरोसा जागेको अग्निपीडितहरूको प्रतिक्रिया छ । रासस

प्रतिक्रिया