डोरोथी मिरोको सम्झना

डोरोथी मिरोलाई पृथ्वीनारायण कलेजसँग जोडिएका धेरैले चिनेका छन् । धेरैले बिर्सी पनि सकेका छन् । डोरोथी मिरोलाई मैले निकै नजिकबाट चिन्ने मौका पाएको थिएँ । २०३४-३५ सालतिर म संस्कृत स्कुलमा पढ्ने समय हरेक शनिवार र अन्य छुट्टीको दिन वहाँको पृथ्वीनारायण कलेजमा रहेको घरमा पुग्दथे । वहाँको घर कलेजको दक्षिण पूर्वको अन्तिम बिन्दुमा थियो ।
कहिले घरको कोठामा कहिले म्यूजियमको कोठामा बसेर वहाँ नेपालको त्रीआयामीक नक्शा बनाउँदै हुनुहुन्थ्यो । जुन नक्शा तस्विरमा घाममा सुकाएको देख्न सकिन्छ । जसले यो स्पष्ट हुन्छ कि यो तस्विर म वहाँको घर जाने गर्ने समय तिर नै खिचिएको हो ।
म पनि वहाँकोमा पुगेपछि यहि नक्शा बनाउन सघाउन तर्फ लाग्दथे । सानो सानो टुक्रा बाक्लो कागजलाई टास्दै अग्ला पहाडहरु र हिमालहरु बनाइएको हो । म वहाँले काटेर ठिक्क बनाएको कागजलाई वहाँले चिन्ह लगाएको ठाउँमा टास्दथे । त्यतिबेला वहाँले यो 3D – त्रीआयामी नक्शा बनाउन खोज्नु भएको जस्तो नै लाग्दैनथ्यो । तर सबै टासेर वहाँले रङ्ग लगाउनु भए पछि भने विश्वास नै गर्न नसकिने गरि वास्तविक जस्तै देखिएको थियो । अहिले यो नक्शा पृथ्वीनारायण क्याम्पसमा रहेको अन्नपूर्ण संग्रहालयमा देख्न सक्नुहुन्छ । तर यो नक्शा बनाउन कति समय र कति मेहनत लागेको थियो भन्ने मलाई राम्ररी थाहा छ । दुइ तीन घण्टा टाँस्न लागेपछि गम सुकाउन घाममा राख्नुपर्दथ्यो । यसरी नै दिन दिनै काम हुन्थ्यो ।
हुन त संग्रहालयको भवन बनाउन पनि वहाँले निकै मेहनत गर्नु भएको थियो । अमेरिकामा बुबाले आफ्नो लागी बैंकमा राखिदिनु भएको रकम लिएर वहाँले यो भवन बनाउनु भएको थियो । भवन बनाउन डिजाइनमा सहयोग नर्मल स्कुल बनाउन आउनु भएका इञ्जिनियर भट्टराईले गर्नुभएको थियो । छाना तथा भित्रि डिजाइन स्व. चन्द्रमान मास्केले गरिदिनुभएको थियो । बाहिर रहेको काठको मुर्तिहरु पाटनका पूर्णबहादुर र वहाँका छोराहरुले गर्नुभएको थियो । अगाडीको सर्पको आकृति कुँडिएको ढोका काठमाडौका पदमबहादुरले बनाएका थिए । आबश्यक काठका सत्तल तथा शिशाहरु ओसार्न क्याम्पसका पुराना पाले मानबहादुरले सहयोग गर्नुभएको थियो । यसरी दुख कष्टसंग बनाइएको यो संग्रहालयमा वहाँको गहिरो लगाव थियो । यो संग्रहालय वहाँको मुटु नै थियो ।
वहाँले सिक्लेसका चन्द्रप्रसाद गुरुङलाई धर्मछोरा बनाउनु भएको थियो । वहाँको परिवारलाई आफ्नै परिवार झै गर्नुहुन्थ्यो । चन्द्रको पढाइ तथा अन्य विषयमा डोरोथीको निकै ठूलो हात थियो । चन्द्रले बैंकक एआइटीबाट माष्टर्स र हवाइ विश्वबिद्यालयबाट मानवशास्त्रमा पिएचडी गर्नुभयो । डा. हर्क गुरुङको साथ मिलेर वहाँले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को गठन पनि गर्नुभयो । यस्तै आयोजना पूर्वी नेपालमा कञ्चनजंघा संरक्षण क्षेत्र आयोजना पनि गठन गर्नुभयो । तर दूर्भाग्य १८ वर्ष अगाडि २०६३ सालको असोजमा कञ्चनजंघा संरक्षण क्षेत्र आयोजना स्थानीय समितिलाई हस्तान्तरण कार्यक्रम सकेर फर्कदा डा. हर्क गुरुङ तथा अन्य संरक्षणविदहरुका साथ ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा देहावसान भएको थियो ।
म डोरोथी मिरोको घरमा जान समयसम्म लक्ष्मी दिदी (चन्द्रप्रसादको बहिनी)को देहान्त भएको थिएन । वहाँले म्यामको सहयोगीका रुपमा भान्सा तथा घर सरसफाइ गर्नुहुन्थ्यो । चन्द्रदाई कहिले काँही मात्र आउनुहुन्थ्यो । तोत्रमानदाइ (चन्द्रप्रसादको दाइ)संग खासै भेट भएन । वहाँ शायद त्यतिबेला अमेरिका गइसक्नु भएको थियो । संस्कृतबाट म बाराही स्कुल गए । डोरोथी मिरोसंग पनि टाढिए । त्यसपछि २-४ पटक मात्र भेट भयो । तोत्रमान दाइसंग अघिल्लो वर्ष सफल म्याराथनको समय भेट भएको थियो । वहाँ लामो समय पछि अमेरिकाबाट नेपाल आउनुभएको थियो । भेटको क्रममा लामो कुराकानी पनि भयो । डोरोथी म्यामको विषयमा पनि कुराकानी भयो ।
यो तस्विरमा त्यहि नेपालको त्रीआयामी नक्शा घाममा सुकाएको देख्न सकिन्छ । दायाँ तर्फ डोरोथी मिरो उभिएको देख्न सकिन्छ । यो तस्विर देख्दा मलाई त्यो समय र डोरोथी मिरो म्यामको याद आँउछ । त्यतिबेला वहाँले मलाई निकै पुस्तकहरु पनि दिनुभएको थियो । ति मध्य केही पुस्तक अझै पनि सुरक्षित छन् । वहाँले लेख्नुभएको Thirty years in Pokhara पनि मसंग छ । वहाँका अन्य पुस्तकहरुमा Kathmandu, Treks and Hippies too: A Search for a Dream, Birds of the Central Himalayas, Himalayan Flowers and Trees, Birds of the Central Himalayas, This Beautiful Nepal, Himalayan Animal Tales, A Little Book Of Nepali Birds हुन् । यसका साथै अन्य केही पुस्तकहरु पनि लेख्नुभएको छ ।
अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले अमेरिकी बिद्यार्थीहरुका लागि अल्प बिकसित राष्ट्रहरुमा दुइ वर्ष काम गरि त्यहाँका स्थानीयलाई शिक्षा, स्वास्थ्य तथा अन्य बिकासका काममा सघाउनका लागि अमेरिकी पिसकोर भोलेन्टियरको कार्यक्रमको घोषणा गर्नुभएको थियो । सोही कार्यक्रमको पहिलो समुहको एक सदस्यका रुपमा डोरोथी मिरो बि.सं. २०१९ सालमा पोखरा आउनु भएको थियो । वहाँले नेपाललाई कर्मक्षेत्र रोज्नुको कारण भने नेपाल पहिले नै आउनुभएर मन पराइसक्नुभएको थियो । २०१४-१५ सालतिर वहाँको आमाको देहावसान भएको एक वर्ष पछि बुबाले आमासंगको बिछोडको दुख भुल्न विश्व भ्रमणमा छोरीका साथ निस्कनुभएको थियो ।
यहि समय नेपाल पुग्नु हुँदा वहाँलाई नेपाल असाध्य मन परेको थियो । यसैले पिसकोरको सदस्यका रुपमा कुन देश जाने भनेर रोज्न लगाउँदा वहाँले नेपालका नाम लेखाएका थिए । यसरी नेपाल आउनुभएका वहाँले शुरुमा एक वर्ष काठमाडौमा त्रिचन्द्र कलेजमा पढाउनुभयो । पोखरामा पृथ्वीनारायण कलेज स्थापना भएको हुँदा शिक्षकका रुपमा पोखरा आउनुभयो । दुइ वर्षको भोलेन्टियरको कार्यक्रम समापन पछि अमेरिका फर्कनु भयो । तर अमेरिकामा अस्पतालमा जाँचका क्रममा वहाँलाई क्यान्सर लागेको जानकारी पाउनुभए पछि उपचारमा महंगो रकमले उपचार गर्नुभन्दा पोखरामा नै संग्रहालय खोल्ने र रोगबारे बिर्सन पनि पोखरा फर्केर आउनु भयो ।
करिव ३८ वर्ष पोखरामा पोखरेलीहरुसंग बिताउँदै क्यान्सर जस्तो डरलाग्दो रोगलाई समेत झुक्याउन सफल हुनुभयो । तर क्यान्सरलाई सधै झुक्याइ रहन सक्नुभएन । अन्तत २०५७ सालको शुरुमा उपचारका लागि अमेरिका जानुभयो । तर उपचार दौरान वहाँ सकुशल भएर पोखरा फेरी फर्कन सक्नुभएन । सोही साल भदाै ८ गते क्यान्सरको जटिल उपचार क्रममा वहाँले सदाका लागि पोखरा मात्र होइन जीवनबाट नै बिदा लिनुभयो ।

प्रतिक्रिया