शनिबार, माघ २६, २०८१

निरजले जिते सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि

नेपालखोज २०८१ माघ ११ गते १८:५९

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२४–२५ अन्तर्गतको चौथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि निरज तामाङले जितेका छन् । जयराम श्रेष्ठलाई तीन स्ट्रोकले हराउँदै उपाधि जित्ने क्रममा निरजले समग्रमा १–अन्डर २०६ स्कोर गरे । उनले आज भने ४–ओभर ७३ स्कोर गरे । उपाधि सहित उनले नगद १ लाख ५० हजार प्राप्त गरे ।

Advertisement

निरजले पोखरामा उपाधि जितेको यो पहिलो पटक हो । उनको करियरको यो तेस्रो उपाधि हो । यसअघि उनले गत सिजनमा सूर्य नेपाल काठमाडौं ओपन र जारी सिजनमा सूर्य नेपाल वेस्टर्न ओपन जितेका थिए । इभन–पार ६९ को कार्ड तयार पारेका जयराम श्रेष्ठले समग्रमा २–ओभर २०९ सहित दोस्रो भए । उनले नगद १ लाख हात पारे । समग्रमा ३–ओभर २१० को स्कोरमा भुवन कुमार रोक्काले तेस्रो स्थानमा चित्त बुझाए। आज उनले ७–ओभर ७६ को प्रदर्शन गरे। उनले ७५ हजार पुरस्कार पाए ।

नेपाल नम्बर एक प्रो भुवन नगरकोटीले आज २–अन्डर ६७ को स्कोर दर्ज गरे । समग्रमा ४–ओभर २११ सहित चौथो हुँदा उनले ६३ हजार प्राप्त गरे। समग्रमा ७–ओभर २१४ को स्कोरमा सञ्जय लामा, धन थापा, विष्णु प्रसाद शर्मा र रामे मगरले पाँचौं स्थान बाँडे । विष्णु र रामेले आज ४–ओभर ७२ तथा सञ्जय र धनले ७–ओभर ७६ को स्कोर निकाले। उनीहरूले जनही ४४ हजार ७५० नगद पुरस्कार पाए ।

१०–ओभर २१७ सहित कृष्णमान राजबहाक र तोरण विक्रम शाहीले दशौं स्थानमा प्रतियोगिता सकाए । कृष्णले ६–ओभर ७५ र तोरणले ४–ओभर ७३ मा अन्तिम दिनको खेल सकाए ।‌ दुवैले जनही ३३ हजार ५ सय नगद प्राप्त गरे । एमेच्योरतर्फ सुरेश तामाङ पहिलो भए। इभन–पार ६९ को स्कोरमा समग्रमा ९–ओभर २१६ को नतिजा निकाल्दै सुरेशले सुमन परियारलाई दुई स्ट्रोकले हराए । समग्रमा ११–ओभर २१८ सहित सुमन काउन्ट ब्याकमा दोस्रो भए । उनले आज ३–ओभर ७२ स्कोर गरे। दोस्रो दिनका लिडर सुन्दर राईले आज ९–ओभर ७८ खेल्दै तेस्रो स्थानमा झरे ।

अन्तिम दिनको सुरूवात गर्दा मात्र एक स्ट्रोकले अगाडि रहेका निरजले उत्कृष्ट स्कोर निकाल्न सकेनन् । उनलाई अन्य गल्फरले चुनौती दिन नसक्दा ३ स्ट्रोकले उपाधि जितेका हुन् । पाँचौं देखि सातौं होलमा बोगी खेपेका उनले फ्रन्ट नाइन ३–ओभर ३७ खेले । यसपछि १०औं होलमा बर्डी प्रहार गरेपनि ११औं र १८औं होलमा एक–एक सट खेर फाले। ब्याक नाइन १–ओभर ३६ मा सकाए ।

जयरामले पहिलो होलमा नै ट्रीपल बोगी प्रहार गरे। लगतै तेस्रो होलमा एक सट खेर फाले। छैटौं र नवौं होलको बर्डीले फ्रन्ट नाइन २–ओभर ३६ मा पुरा गरे । यसपछि ब्याक नाइनमा चार बर्डी र दुई बोगी प्रहार गरे । १० औं होलमा बर्डी प्रहार गरे भने १२ औं होलमा बोगीको सामना गरे । यसपछि १५ औं देखि १७ औं खेलमा लगातार तीन बर्डीको सफलता प्राप्त गरे। अन्तिम होलमा एक सट खेर फाल्दा ब्याक नाइन २–अन्डर ३३ मा सकाए । यो सँगै उनी संयुक्तरुपमा पाँचौंबाट दोस्रो स्थानमा उक्लन सफल भए ।

लगातार दुई दिन दोस्रो स्थानमा रहेका भुवनले फ्रन्ट नाइन ५–ओभर ३९ र ब्याक नाइन २–ओभर ३७ मा सकाए । उनले दोस्रो र चौथो तथा यसपछि पाँचौं देखि सातौं होलमा लगातार तीन बोगी हाने । ११ औं र १५ औं होलमा पनि एक–एक सट खेर फाले । प्रतियोगिताका विजयी खेलाडीहरुलाई सूर्य नेपाल प्रालिका महाप्रबन्धक केशव प्रधान, गण्डकी प्रदेश गल्फ संघका अध्यक्ष इन्द्रधारा बिष्ट, कास्की जिल्ला गल्फ संघका अध्यक्ष जिवाराम गुरूङले पुरस्कार वितरण गरे । ५४ होलको तीन दिने प्रतियोगितामा ३४ प्रोफेसनल र १८ एमेच्योर गरी कुल ५२ गल्फरहरूले भाग लिएका थिए । प्रतियोगिताको कुल पुरस्कार राशी ८ लाख ८२ हजार रहेको थियो । भोलि प्रो–एम प्रतियोगिता हुनेछ ।

प्रतिक्रिया