कर्णालीको परिचय बदल्न युवाको संकल्प जरुरी : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीको परिचय बदल्न युवाको साथ र संकल्पको जरुरी रहेको बताए । वीरेन्द्रनगरमा शुक्रबारदेखि शुरु कर्णाली युवा महोत्सवको उद्घाटन गर्दै उनले सरकारको एकल प्रयासले मात्र कर्णालीको विकास र समृद्धिको यात्रा सफल नहुने बताएका हुन् ।
मुख्यमन्त्री कँडेलले प्रदेश सरकारलाई निश्चित बजेट र स्रोतसाधनका आधारमा काम गर्नुपर्ने बाध्यता रहेको औंल्याए । ‘सबै पक्षलाई समेटेर लैजाने प्रयास गरेको छु, युवाको सकारात्मक साथ आवश्यक छ, उनले भने, ‘मैंले कहिल्यै कर्णालीको शीर निहु¥याउने काम गर्ने छैन्, प्रदेशको विकासमा युवाहरुलाई साथमै राख्नेछु ।’ साथै उनले लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएकाले व्यवस्थाविरोधी चिन्तन नराख्न युवाहरुलाई आग्रह गरे ।
युवा महोत्सवलाई सम्बोधन गर्दै वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले युवाहरुले निराशाको खेती गरेर नागरिकलाई पछि धकेल्ने काम गर्न नहुने बताइन् ।
साथै नगर प्रमुख ढकालले विदेश सोचेजस्तो नभएकाले युवाहरुले विदेश मोह त्याग्नुपर्ने सुझाव दिँदै भनिन्, ‘आफ्नो खेतीयोग्य जमिनलाई बाँझो राखेर राज्यलाई गाली गरेर युवाले केही पाउँदैनन् यस्तो प्रवृत्तिले देशको पनि विकास हुँदैन् ।’
त्यस्तै नेपाली कांगे्रसका युवा नेता भुपेन्द्रजंग शाहीले कर्णालीका नागरिकले केही गर्न सक्दैनन् भन्ने सोच बदल्नुपर्ने बताए । ‘कर्णालीबारे सोच बदल्न आवश्यक छ, कर्णाली सम्भावनाको क्षेत्र हो, कर्णालीको कृषि, पर्यटनमा धेरै सम्भावना भएको प्रदेश हो, उनले भने, ‘तर आज कर्णालीका गाउँहरु खाली भएका छन्, युवाहरु विदेशिएका छन्, हामीले मिहेनत गर्ने हो भने कर्णालीको माटोमा सुन फलाउन सकिन्छ ।’
नेता शाहीले कर्णाली बदल्नका लागि राजनीतिक दलहरु र वौद्धिक वर्गलाई दलीय स्वार्थभन्दा माथि उठ्न आग्रह गरे । राजनीतिक पावरका आधारमा भन्दा पनि साझेदारीका आधारमा यसको विकासमा लाग्न जरुरी रहेको उनको भनाई छ । कर्णाली प्रदेश सरकारले युवा वर्गको क्षेत्रमा काम गर्न आवश्यक रहेको भन्दै उनले युवाहरुलाई उत्पादन, उद्यमशिलताका क्षेत्रमा आकर्षण गराउने खालका कार्यक्रमहरुको जरुरी रहेको औंल्याए ।
महोत्सव सुर्खेत उद्योग वाणिज्य संघका महासचिव भद्र भण्डारी, नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष सुशिलराज शर्मा, राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव नन्दा बस्याल लगायतले शुभकामना व्यक्त गरेका थिए । परिवर्तनका लागि युवा, राष्ट्र निर्माण मञ्च नेपाल र राष्ट्रिय युवा परिषद्को संयुक्त आयोजनामा शुरु भएको कर्णाली युवा महोत्सव शनिबारसम्म चल्नेछ ।
महोत्सवमा कर्णालीको विकासमा युवाको भूमिका, युवा उद्यमशिलता र सिर्जनशिलता लगायतका विषयमा प्रेरणादायी सत्र सञ्चालन हुनेछन् ।

प्रतिक्रिया