नागरिक उड्डयन मन्त्री पाण्डेको प्रमुख आतिथ्यतामा ४६ औँ पर्यटक प्रहरी दिवस सम्पन्न

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा ‘४६औँ पर्यटक प्रहरी दिवस, २०८१’ नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपमा शनिबार आयोजित एक समारोहबीच सम्पन्न भएको छ ।
समारोहमा मन्त्री पाण्डेले पर्यटक प्रहरी कार्यमा बिशेष सहयोग पुर्याउने संघसंस्था एवम् व्यक्तित्वलाई प्रशंसापत्र प्रदान गरे । मन्त्री पाण्डेले पर्यटकको सुरक्षाका साथसाथै पर्यटकको समस्या एवम् गुनासो सम्बोधनमा पर्यटक प्रहरीले उत्कृष्ट व्यवहारका साथ निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताए ।
पर्यटनको प्रवद्र्धन, विकास एवं सम्बृद्धिमा सम्बद्ध निकायले उत्कृष्ट व्यवहारका साथ आ-आफ्नो क्षमता तथा दक्षता अभिवृद्धि गर्नुपर्नेमा उनले जोड दिए । कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले उत्कृष्ट कार्य गर्ने पर्यटक प्रहरी कर्मचारीहरूलाई प्रशंसापत्र प्रदान गरे ।
सोही अवसरमा प्रहरी महानिरीक्षक कुँवरले पर्यटकको सुरक्षा र पर्यटन विकासमा महत्वपूर्ण टेवा पुर्याउने उद्देश्य सहित स्थापित पर्यटक प्रहरीले उपलब्ध साधन स्रोतको उपयोग गर्दै निर्वाह गरेको कार्य सराहनीय रहेको उल्लेख गरे । पर्यटकीय सुरक्षा व्यवस्थापन कार्य प्रहरीको एकल प्रयासले मात्र सम्भव नहुने हुँदा यसका लागि सबै सरोकारवाला निकायको समन्वयात्मक भूमिका अपरिहार्य रहेको समेत उनले बताए ।
प्रहरी महानिरीक्षक कुँवरले नेपाल सुन्दर मात्र हैन सुरक्षति पनि छ भनेर विश्वमाझ चिनाउन सके हाम्रो पर्यटन क्षेत्रमा थप आकर्षण पैदा हुने उल्लेख गर्दै पर्यटकको सुरक्षालाई प्राथमिकतामा राखि समग्र पर्यटन क्षेत्रको संरक्षण, विकास र प्रवद्र्धनमा नेपाल प्रहरी सदैव कटिवद्ध भई सेवा प्रवाह गर्ने बताए ।
पर्यटक प्रहरीद्वारा सम्पादित कामकारवाही एवं प्रदर्शित व्यवहारको प्रभाव राष्ट्रिय रूपमा मात्र नभई अन्तर्राष्ट्रिय रूपमा समेत पर्ने हुँदा यसमा आवद्ध प्रहरी कर्मचारीले सेवा प्रवाहको स्तर अझ बढाउँदै उच्च व्यावसायिकता र निष्ठाका साथ कार्य गर्न उनले निर्देशन दिए ।

प्रतिक्रिया