अल्लोको कपडाबाट आकर्षक सामग्री

नेपालखोज २०८१ माघ १४ गते १०:३६

फुङ्लिङ(ताप्लेजुङ) । ग्रामीण क्षेत्रमा पाइने कच्चा पदार्थको उपयोग गरेर ताप्लेजुङका महिला उद्यमी बन्दै गएका छन् । स्थानीय सरकार र विभिन्न संस्थाको सहयोगमा उनीहरूले आफ्नो क्षमता विकास गर्दै उद्यमी बन्न थालेका हुन् ।

फुङ्लिङ नगरपालिका–१० कि दीपा लिम्बूले विगत एक वर्षदेखि अल्लो प्रशोधन कार्यमा संलग्न हुँदै आएका छन् । बिहान–बेलुका घरायसी काम सकेर दिउँसो उनी अल्लोबाट विभिन्न सामग्री उत्पादन गर्न व्यस्त रहनुहुन्छ । त्यही गाउँका ६५ वर्षीया गङ्गामाया लिम्बू पनि अहिले अल्लोको कपडाबाट सामग्री उत्पादन गरेर आत्मनिर्भर बनेकी छिन् । उनीसँगै रूपमती लिम्बू पनि तालिम लिएर अल्लो कपडा उत्पादनमा सक्रिय छन् ।

फुरुम्बो गाउँका १६ महिलाले सामूहिक रूपमा अल्लोको सामग्री उत्पादन गर्दै आएका छन् । हिमाली संरक्षण मञ्च, रेड पाण्डा नेटवर्क, घरेलु तथा साना उद्योग र फुङ्लिङ नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा उनीहरूले उद्यमशीलताको यात्रा सुरु गरेका हुन् । गत वर्षदेखि सुरु भएको अभियानले उनीहरूको जीवनमा ठूलो परिवर्तन ल्याएको छ । तालिमले महिलालाई उद्यम विकास, अल्लो सङ्कलन, प्रशोधन र उत्पादनको सीप प्रदान गरेको छ । यसै तालिमपछि उनीहरूले कपडाबाट पोशाक, झोला, पर्स, रुमाललगायत सामग्री उत्पादन गर्न थालेका छन् ।

घरेलु तथा साना उद्योग महासङ्घका महिला उपाध्यक्ष विष्णु श्रेष्ठका अनुसार विद्यालयबाट पनि अल्लो सामग्रीको माग आएको छ । ‘महिलाहरूले उत्पादन गरेका सामानको गुणस्तर राम्रो भएकाले बजार विस्तार हुँदैछ’, श्रेष्ठले भने । हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईका अनुसार यो अभियानमा रेड पाण्डा नेटवर्क र हिमाली संरक्षण मञ्चले २४ लाख लगानी गरेका छन् । फुङ्लिङ नगरपालिकाले रु दुई लाख, वडा कार्यालयले रु एक लाख ५० हजार र घरेलु तथा साना उद्योग कार्यालयले दुई लाख सहयोग गरेका छन् ।

तालिम र सामूहिक उत्पादनका क्रममा महिलाले ‘फुरुम्बु अल्लो कपडा उद्योग’ दर्ता गरेका छन् । सामूहिक उद्यमका रूपमा सुरु गरिएको यस उद्योगले उत्पादन गरेको सामग्री बजारसम्म पुर्याउन स्थानीय सरकार र हिमाली संरक्षण मञ्चले सहजीकरण गरिरहेको छ । फुङ्लिङ नगरपालिका–१० का वडाध्यक्ष सन्तोष लिम्बूका अनुसार नगरपालिकाले महिलाका उत्पादन विद्यालयमा आपूर्ति गर्ने योजना बनाएको छ ।

महिलाको सामूहिक प्रयासले ग्रामीण क्षेत्रमा स्वरोजगार सिर्जनाका नयाँ सम्भावना उजागर गरेको छ । यसले महिला सशक्तीकरण र स्थानीय विकासमा महत्वपूर्ण योगदान पुर्याएको छ ।

प्रतिक्रिया