जनतामा राजनीतिक चेतना बढ्दै गएको छ : अध्यक्ष दाहाल

चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनतामा राजनीतिक चेतना बढ्दै गएको बताएका छन् ।
नेकपा (माओवादी केन्द्र) चितवनले आज यहाँ आयोजना गरेको पार्टी प्रवेश एवं प्रशिक्षण कार्यक्रममा अध्यक्ष दाहालले देशभरि जनताको तहमा, वामपन्थी तहमा र समग्र राजनीतिक तहमा नयाँ चेतनाको विकास भएको पाइएको बताए ।
उनले भने, ‘माओवादी केन्द्रप्रति जनतामा ठूलो भरोसा बढेको छ ।’ अहिले पार्टीका वर्गीय सङ्गठनलाई बलियो बनाउनतर्फ आफू लागेको अध्यक्ष दाहालले बताए ।
सो अवसरमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का जिल्ला उपाध्यक्ष गङ्गा लामा, केन्द्रीय सल्लाहकार अरुणपीडित भण्डारी, केन्द्रीय लेखा आयोगका सदस्य कृष्णराज न्यौपानेसहितका नेता कार्यक्रकर्ता नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका थिए ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य घनश्याम दाहाल, माओवादी केन्द्रका जिल्ला संयोजक रामचन्द्र अधिकारीलगायतले आ-आफ्नो धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया