अबको राजनीतिक मुद्दा भ्रष्ट्राचार अन्त्य : अध्यक्ष दाहाल

म्याग्दी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्ट्राचारकै कारण नेपालमा आर्थिक सङ्कट देखिएको बताएका छन् ।
माओवादी केन्द्र म्याग्दीले आज बेनीमा आयोजना गरेको खबरदारी सभामा उनले नेपालको आर्थिक, सामाजिक र भौतिक विकासको बाधकका रूपमा रहेको भ्रष्ट्राचारको अन्त्य अबको राजनीतिक मुद्दा भएको बताए ।
देशलाई आर्थिक सङ्कटबाट मुक्त बनाउन भ्रष्ट्राचारविरुद्धको लडाइमा जनताको साथ आवश्यक रहेको अध्यक्ष दाहालको भनाइ थियो ।
पूर्वप्रधानमन्त्री दाहालले पछिल्लो पटक आफूले सरकारको नेतृत्व गर्दा सुशासन, सामाजिक न्याय र सम्बृद्धिका पक्षमा काम गरेर जनतामा आशा र विश्वास जगाउने प्रयत्न गरेको धारणा राखे ।
जलविद्युत्को अन्तरराष्ट्रिय व्यापारका लागि सम्झौता तथा राष्ट्रिय एवं अन्तरराष्ट्रिय प्रशारण लाइन आयोजना अघि बढाएको बताउँदै अध्यक्ष दाहालले म्याग्दीको छिमेकी जिल्ला मुस्ताङको कोरलालगायत नेपाल चीनका परम्परागत व्यापारिक नाका पनि सञ्चालनमा ल्याउने काम आफ्नै नेतृत्वमा भएको दाबी गरे ।
यसैगरी उहाँले विगतका कमजोरीलाई सच्चाएर जनताको पक्षमा दृढतापूर्वक उभिने अभियान सुरु गरिएको र विभाजित माओवादीलाई एकैठाउँमा ल्याउने काम अन्तिम चरणमा पुगेको बताए ।
कार्यक्रममा माओवादी केन्द्रका जिल्ला इञ्चार्ज गोविन्द पौडेल, गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री रेशमबहादुर जुग्जाली, नेताहरू हरिबहादुर भण्डारी, शेरबहादुर केसी र विनोद केसीले म्याग्दीको विकास निर्माणको विषयमा सरकारको ध्यानाकर्षण गराउन आग्रह गरे ।
प्रतिक्रिया