शनिबार, माघ २६, २०८१

महोत्तरीमा ४५ हजार बढीलाई एचपीभी खोप दिइँदै

नेपालखोज २०८१ माघ २३ गते १७:५९

महोत्तरी । महोत्तरीमा करिब ४५ हजार किशोरीलाई पाठेघर मुखको क्यान्सरविरुद्ध ९एचपिभी० खोप लगाइने तयारी छ ।

Advertisement

जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीय तहमा दुई चरणमा सञ्चालन गरिने खोप अभियान अन्तर्गत ४५ हजार चार सय ६४ जना किशोरीलाई खोप दिइने जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको हो । पहिलो चरणको खोप बिहीबार सुरु हुँदै छ ।

विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिरका १० वर्षदेखि १४ वर्ष उमेर समूहभित्रका किशोरीलाई खोप दिइँदैछ ।

खोप दिइने विद्यालयका छात्रा ३६ हजार ६० र विद्यालय बाहिरका किशोरी आठ हजार चार सय ६८ रहेका कार्यालय प्रमुख तथा वरिष्ठ स्वास्थ्य प्रशासक नवलकिशोर साहले जानकारी दिए । जिल्लाका सात स्थानीय तहमा पहिलो चरणमा बिहीबारदेखि ३० गतेसम्म खोप सञ्चालन हुने कार्यालयले जनाएको छ ।

जलेश्वर, लोहारपट्टी, मनराशिशवा र मटिहानी नगरपालिका तथा पिपरा, एकडारा र महोत्तरी गाउँपालिकालमा पहिलो चरणमा खोप कार्यक्रम रहेको वरिष्ठ स्वास्थ्य प्रशासक साहले जानकारी दिनुभयो । यसरी पहिलो चरणमा १९ हजार ६९ जना किशोरीलाई एचपीभी खोप दिइने कार्यालयले जनाएको छ ।

यसैगरी दोस्रो चरणअन्तर्गत आगामी फागुन २ गतेदेखि आठ गतेसम्म सञ्चालन गरिने भएको छ । दोस्रो चरणअन्तर्गत जिल्लाका भङ्गाहा, बर्दिबास, रामगोपालपुर, बलवा, औरही र गौशाला नगरपालिका तथा सम्सी र सोनमा गाउँपालिका समावेश छन् ।

यस चरणमा २६ हजार तीन सय ९५ जना किशोरीलाई खोप लगाइने वरिष्ठ स्वास्थ्य प्रशासक साहले जानकारी दिनुभयो । जिल्लामा खोप दिइने सबैभन्दा बढी बर्दिबास नगरपालिकामा चार हजार नौ सय ८६ र सबैभन्दा कम महोत्तरी गाउँपालिकामा एक हजार सात सय १७ किशोरी छन् ।

जिल्लाका छ कक्षादेखि १० सम्म पठनपाठन हुने सबै विद्यालय र विद्यालय बाहिरका किशोरीलाई लक्षित गरी बस्तीबस्तीमा खोप केन्द्र निर्धारण गरिएको कार्यालयले जनाएको छ ।

जम्मा चार सय दुई खोप केन्द्र व्यवस्था गरिएको साहको भनाइ छ । खोप सञ्चालनका लागि हरेक केन्द्रमा एक सुपरभाइजर, एक भ्याक्सिनेटर र दुई स्वयंसेवकसहित चार जनाको जनशक्ति परिचालन गरिने कार्यालयले स्पष्ट गरेको छ ।

यो अभियानमा लक्षित समूहभित्रका कोही किशोरी नछुटुन् भनी प्रचारप्रसार गरिएको जानकारी दिँदै कार्यालय प्रमुख साहले यस अभियानमा साथ दिन सबैसँग अनुरोध गरे ।

प्रतिक्रिया