हनी ट्रयापमा संलग्न व्यक्ति पक्राउ

काठमाडौं । हनी ट्रयाप संलग्न रहको अभियोगमा चितवन रत्ननगर नगरपालिका–८ घर भई काठमाडौं महानगरपालिका–१३ कुलेश्वर बस्ने २८ वर्षीया अस्मिता आचार्यलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
अस्मिताले आपराधिक लाभ लिने उद्देश्यले इलेक्ट्रिक सामानहरू मर्मत गर्ने व्यक्तिलाई राइस कुकर बनाउने बहानामा पटक पटक मोबाइलमा सम्पर्क गरी माग गरे अनुसारको रकम नदिए जबरजस्ती करणी मुद्दामा फसाई दिन्छु र प्रहरी तथा परिवारमा समेत भनी दिन्छु भनी धाक धम्की, डर त्रास देखाई पीडितसँग रकम असुली गरेको भन्ने सूचना प्राप्त हुनासाथ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–१३ कुलेश्वरबाट पक्राउ गरेको हो ।
उनलाई आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी मुद्दामा थप अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
ठगी सम्बन्धी मुद्दाका फरार प्रतिवादी पक्राउ
ठगी सम्बन्धी मुद्दाका फरार प्रतिवादी रूकुम पश्चिम बाँफिकोट गाउँपालिका–१ घर भई ललितपुर महालक्ष्मी नगरपालिका–४ इमाडोल बस्ने ३३ वर्षीया सुभद्रा दाहाल गुरूङलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत काठमाडौंबाट उक्त मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेकी उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ललितपुर इमाडोलबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
स्रोत नखुलेको रकम सहित दुई जना पक्राउ
पर्साको वीरगंज महानगरपालिका–१० आदर्शनगरबाट स्रोत नखुलेको नगद ७ लाख रूपैयाँ सहित बिन्दबासिनी गाउँपालिका–३ झौवा बस्ने ४३ वर्षीय अजय कुमार साहलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित पक्राउ गरेको हो ।
धनुषाको शहीदनगर नगरपालिका–३ यदुकुहा बजारबाट स्रोत नखुलेको १ लाख ४७ हजार भारतीय रूपैयाँ सहित सबैला नगरपालिका–११ इनर्बा टोल बस्ने २० वर्षीय चन्द शेखलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय यदुकुहाबाट खटिएको प्रहरीले तिनकोरीयाबाट यदुकुहातर्फ आउँदै गरेको ज.१२ प २०३६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त नगद सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया