सट्टाबाजीमा सङ्लग्न २३ भारतीय नागरिक सार्वजनिक

नेपालखोज २०८१ माघ २९ गते २०:५३

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँले सट्टाबाजीमा सङ्लग्न २३ भारतीय नागरिकलाई आज सार्वजनिक गरेको छ । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–३ गैरीगाउँस्थित दोर्जे शेर्पाका घरमा अनलाइन जुवा खेलाइरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको थियो ।

पक्राउ परेका व्यक्तिको साथबाट प्रहरीले रु ८१ हजार, ८८ थान मोबाइल, ल्यापटप, भारतीय सीम र आधार कार्ड, एटिएम, सिमकार्डलयायत कारोबारको हिसाब राखिएको नोटबुकसमेत बरामद गरेको थियो ।

पक्राउ गरिएकाहरूलाई सट्टेबाजी गर्न नहुने कसुरमा जिल्ला अदालत काठमाडौँबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी परिसर काठमाडाैंका वरिष्ठ प्रहरी उपरीक्षक विश्व अधिकारीले सो प्रकरणमा करिब रु तीन अर्बको अनलाइन जुवा खेलाएको हालसम्मको अनुसन्धानबाट खुलेको जानकारी दिए ।

उनले शान्ति सुरक्षा, अपराध अनुसन्धान, यातायात व्यवस्थापन र मानव बेचबिखन नियन्त्रणलगायतका विषयलाई उच्च प्राथमिकतामा राखेर सङ्गठनले काम गरिरहेको बताए ।

परिसरलाई विनियोजित बजेटको ८० प्रतिशतभन्दा बढी साधनस्रोत र जनशक्ति शान्ति सुव्यवस्थाका लागि खर्च भइरहेको जानकारी दिँदै अधिकारीले शान्ति सुरक्षा र न्यायिक कार्य सम्पादनलाई उच्च प्राथमिकतामा राखिएको बताए ।

परिसर मातहत करिब चार हजार जनशक्ति रहेका र सो जनशक्तिले एक हजार एक सयभन्दा बढी विषयमा नागरिकलाई सहयोग पु¥याइरहेको उहाले जानकारी दिए । रासस

प्रतिक्रिया