मकालु हिमालमा फहराइएको ट्राफिक सन्देशमूलक ब्यानर हस्तान्तरण

नेपालखोज २०८२ जेठ २३ गते ९:४७

काठमाडौं । विश्वको पाँचौं सर्वोच्च शिखर मकालु हिमालमा फहराइएको ‘ट्राफिक नियमको पालना गरौं, दुर्घटनाबाट आफू बचौं र अरूलाई पनि बचाऔं’ भन्ने नारा अंकित सन्देशमूलक ब्यानर काठमाडौं उपत्यका प्रहरी कार्यालयलाई हस्तान्तरण गरिएको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयमा बिहीबार आयोजित एक कार्यक्रमबीच सोही कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङलाई मकालु हिमाल आरोही दोलखा गौरीशङ्कर गाउँपालिका-९ बस्ने दाबुटी शेर्पाले उक्त ब्यानर हस्तान्तरण गरेका हुन ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले मकालु हिमालको सफतलापूर्वक आरोहण गरी सडक सुरक्षा र ट्राफिक नियमको पालना सम्बन्धी सन्देश विश्व सामु पुर्यामा बधाई तथा शुभकामना व्यक्त गरे । यस्ता प्रयासले सडक सुरक्षाको महत्वलाई प्रचार गर्नुका साथै ट्राफिक नियमको पालना गर्न र दुर्घटना न्यूनीकरण गर्न सहयोग पुर्याउने विचार उनले व्यक्त गरे । याे अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक तामाङ लगायत उपस्थित प्रहरी अधिकृतले आरोही दाबुटीलाई खादा ओढाई सम्मान समेत गरे ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले शुभकामना मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रममा आरोही दाबुटी शेर्पाले आरोहणका क्रममा भोगेका अनुभव सहितको मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा आरोही दाबुटीको जिवनी र हिमाल आरोहण सम्बन्धी वृत्तचित्र समेत प्रस्तुत गरिएको थियो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले प्रदान गरेको उक्त सन्देशमूलक ब्यानर शेर्पाले सन् २०२५ मे २९ मा मकालु हिमालको सफलतापूर्वक आरोहरण गरी शिखरमा फहराएका थिए । कार्यक्रममा प्रहरी नायव महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृत लगायत प्रहरी अधिकृत तथा जवान एवम् सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया