चलचित्र ‘अञ्जिला’ को बेलायतमा भव्य प्रिमियर, निकै प्रभावशाली र प्रेरणादायी भएको प्रतिक्रिया

काठमाडौं । बेलायतको एल्डरसटस्थित एम्पायर हलमा नेपाली महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बाको जीवनमा आधारित नेपाली चलचित्र ‘अञ्जिला’को भव्य प्रिमियर सम्पन्न भएको छ ।
प्रिमियरमा बेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरे प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने बेलायतमा रहने नेपाली चलचित्रकर्मी, व्यवसायी तथा सर्वसाधारण दर्शकहरूको उपस्थिति थियो ।
नेपालबाट यस चलचित्रकी कलाकार सिर्जना सुब्बा, निर्माता तथा कलाकार प्रेम कुमार श्रेष्ठ, सह–निर्माता विनोद अग्रवाल र निर्देशक मिलन चाम्स बेलायत पुगेका थिए । साथै, चलचित्र निर्देशक समाजका महासचिव अरुण कुमार प्रधान र उद्घोषक नरेश भट्टराई पनि उपस्थित थिए ।
नेपालमा जारी अन्तर्राष्ट्रिय खेल प्रतियोगिताका कारण एञ्जिला भने बेलायत प्रिमियरमा उपस्थित हुन सकिनन् । प्रिमियर अगाडि उनको भिडियो सन्देश प्रस्तुत गरिएको थियो, जसमा उनले चलचित्र टिमलाई शुभकामना दिँदै सबै दर्शकलाई धन्यवाद दिएकी थिइन् । साथै, उनको छोटो परिचयात्मक भिडियो पनि प्रदर्शन गरिएको थियो ।
प्रिमियर समारोहमा राजदूत घिमिरेले चलचित्र टिमलाई बधाई दिँदै चलचित्रले नेपाली खेल जगतमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे । ‘म आज साँच्चै नै गर्व गरिरहेको छु । उनीहरूले यस्तो राम्रो बायोपिक लिएर आउनुभएको छ, जसले खेल जगतलाई ठुलो प्रभाव पार्न गइरहेको छ । अहिले उकालो लागिरहेको नेपालको खेल क्षेत्रका उदीयमान खेलाडीमाथि चलचित्र बन्न सुरु भएको छ, जसले नयाँ इतिहासको अध्याय सुरु गरेको छ,’ राजदूत घिमिरेले बताए ।
समारोहमा चलचित्रका निर्देशक मिलन चाम्सले खेल क्षेत्रको विकास र खेलाडीको सङ्घर्षलाई उजागर गर्न यो चलचित्र निर्माण गरिएको बताए ।
चलचित्र हेरेका दर्शकले ’अञ्जिला’ निकै प्रभावशाली र प्रेरणादायी भएको प्रतिक्रिया दिए । नेपालमा खेलाडी बन्न कति कठिन रहेछ भन्ने चलचित्र हेरेपछि महसुस भएको बताउँदै चलचित्र हेरिरहँदा धेरै पटक आँखामा आँसु आएको दर्शकले बताए ।
निर्माता प्रेम कुमार श्रेष्ठले युकेका दर्शकहरूले चलचित्र अत्यन्तै मन पराएको बताए ।
प्रतिक्रिया