मालिकामा पर्यटक भित्र्याउन सडक निर्माण

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मा रहेको पर्यटकीयस्थल मुना मालिका जोड्ने सडक निर्माण थालिएको भएको छ ।
गण्डकी प्रदेश सरकार र धवलागिरी गाउँपालिकाले मुनादेखि मालिका धुरी जोड्ने सडक निर्माण थालेका हुन् । भौगोलिक विकटता र यातायातको असुविधाका कारण ओझेलमा परेको मुना मालिकामा पर्यटक भित्र्याउनका लागि सडक निर्माण गर्न लागिएको धवलागिरी गाउँपालिका–३ का वडा अध्यक्ष देवेन्द्र रोकाले बताए ।
दुई योजना मार्फत पाँच किलोमिटर सडक निर्माण भएपछि पाँच घण्टाको यात्राअवधी ४५ मिनेटमा छोटिने वडा अध्यक्ष रोकाले बताए । मुनादेखि मालिका धुरी पुग्न हाल कम्तीमा छ घण्टा जङगलको उकालो बाटोमा पैदलयात्रा गर्नुपर्छ । सडक निर्माण भएपछि एक घण्टा भन्दा कम समय पैदलयात्रा गरेर मालिका पुग्न सकिनेछ ।
सुर्योदय, हिमशृङखला, पहाडी भूगोल, वन पैदावार, वन्यजन्तुको अवलोकन गर्न सकिने मुना मालिका समुन्द्रि सतहदेखि तीन हजार सात सय मिटर उचाईमा छ ।
पुथा, गुर्जा, सिस्ने, धौलागिरि, मानापाथी, अन्नपूर्ण, निलगिरि हिमशृङखलाको अवलोकन गर्न सकिने मुना मालिका सुनसान छ । म्याग्दी र बागलुङका बस्तिहरु देखिन्छ । बादल र पहाडको लुकामारी हेर्न पाइन्छ ।
मुनादेखि मालिका धुरी जाने पदमार्ग दुर्लभ बन्यजन्तु रेडपाण्डा (हाब्रे)को बासस्थान पनि भएको वडा अध्यक्ष रोकाले बताउनुभयो । मुना मालिकामा हरेक वर्षको वुद्धपूर्णिमाका दिन मेला लाग्ने गर्छ । जालिका, मालिका र कालिका देविको थान रहेको छ । वुद्ध पूर्णमाका दिन मुना मालिकामा पुजाआजा गर्नाले मनोकांक्षा पुरा हुने जनविश्वास रहेको छ ।
मालिका गाउँपालिकाको देविस्थान र धवलागिरीको मुनाका बासिन्दाहरु यहाँ पुजाआजाका लागि जाने गर्दछन् । पहिले पहिले यहाँ धार्मिक मेला लाग्ने र ठेलो फाल्ने प्रतियोगिता हुने गरेको बुढापाका बताउछन् ।
यो क्षेत्रमा मुनाका कृषकले गाईभैसी र भेडाबाख्राको गोठ लैजाने चलन थियो । पाहुना, पर्यटक र भक्तजन आश्रयस्थलमा बास बस्छन् । होटल तथा रेष्टुरेन्ट नभएकाले खाने र बन्दोबस्तीका सामान आफै लैजानुपर्ने हुन्छ ।
यात्राअवधी र बाटो छोट्याउने, आश्रयस्थल बनाउने, चिया पसल सञ्चालन, देविस्थान, ताकमकोत र ढोरपाटनको जलजलासँग मुना मालिकालाई जोडेर पदमार्ग सञ्चालनका लागि सम्भाव्यता अध्ययन भैरहेको धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बताए । रासस

प्रतिक्रिया