जलवायु परिवर्तनको बढी असर महिलालाई

काठमाडौं । सरोकारवालाहरुले जलवायु परिवर्तनले पारेको प्रभावको मुख्य असर महिलामा परेको भन्दै उनीहरुलाई जलवायुको असरबाट बच्न क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिएका छन् ।
एसिया र प्रशान्त क्षेत्रका लागि क्षेत्रीय सामुदायिक वन तालिम केन्द्रले आज राजधानीमा आयोजना गरेको ‘लैङ्गिक समानता र वन तथा जलवायु परिवर्तनमा नेतृत्वको प्रवद्र्धन’ अन्तरराष्ट्रिय गोष्ठीको उद्घाटन सत्रमा सरोकारवाालहरुले जलवायुजन्य सङ्कटको चपेटामा महिलाहरु परिरहेको बताएका हुन् ।
पूर्वमन्त्री तथा जलवायु लैङ्गिक अभियन्ता डा बिमला पौड्याल राईले जलवायु परिवर्तनको मुख्य असर कृषि, ऊर्जा, खानेपानीलगायत क्षेत्रमा पर्दै गइरहेको उल्लेख गरिन् । उनले असर न्यूनीकरण तथा अनुकूलनका लागि मुख्यगरी महिलाहरुको क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिइन् ।
‘जलवायुले पारेको प्रभावका क्षेत्रहरु कृषि तथा खानेपानीमा धेरै महिला प्रत्यक्ष रुपमा जोडिएका छन्”, उनले भनिन्, ‘यी क्षेत्रमा जलवायुले पारेको प्रत्यक्ष असर महिलालाई पनि परेको हुन्छ, पानीको मुहान सुक्दा टाढा–टाढासम्म महिलाहरु पानी लिन जानुपर्ने हुन्छ ।’
राईले जलवायुजन्य सङ्कटले ल्याएका प्राकृतिक विपद्ले विद्यालयका भौतिक संरचनाहरुलाई क्षति पुर्याउँदा शैक्षिक क्षेत्रमा समेत असर गरिरहेको बताइन्। सरकारका आगामी नीति तथा कार्यक्रमहरु जलवायु लैङ्गिक उत्तरदायी हुनुपर्नेमा उनको भनाइ छ । जलवायु परिवर्तनका असरका कारण अपाङ्गता भएका व्यक्तिहरुलाई पनि असर परिरहेको भन्दै जलवायु अनुकूलनमा उनीहरुको क्षमता अभिवृद्धिमा जोड दिनुपर्ने धारणा राखिन् ।
वन तथा वातावरण मन्त्रालयअन्तर्गत रेड कार्यान्वयन केन्द्रका प्रमुख नवराज पुडासैनीले वन तथा जलवायुको क्षेत्रमा महिलाहरुको नेतृत्वदायी भूमिका बढाउन सकेमा लैङ्गिक जलवायु न्याय सुनिश्चित गर्न सम्भव हुने भनाइ राखे।
नेपालका लागि स्वीडेनका महावाणिज्य राजदूत मौसमी श्रेष्ठले जलवायु लैङ्गिक न्यायका लागि नेतृत्वदायी भूमिका महिलाको सहभागिता जरुरी रहेको बताए ।

प्रतिक्रिया