आइतबार, असार ८, २०८२

आगलागीपीडितका लागि ११ लाख बढी राहत संकलन

नेपालखोज २०८१ फागुन ६ गते ११:२०

खोटाङ । विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसी बजारका आगलागीपीडितका लागि एकैदिनमा ११ लाख पाँच हजार रूपैयाँ राहत रकम सङ्कलन भएको छ ।

हलेसी तुवाचुङ नगरपालिकाका जनप्रतिनिधि, नगरपालिकामा कार्यरत स्थायी निजामती कर्मचारी, करारका कर्मचारी र शिक्षकबाट १० लाख रूपैयाँ तथा उद्योग वाणिज्य सङ्घ हलेसी शाखाले ५० हजार रूपैयाँ, खोटाङ प्राकृतिक विपद् व्यवस्थापन कोषले ४० हजार रूपैयाँ र सुदेवी कन्स्ट्रक्सन प्रालि हलेसीले १५ हजार रूपैयाँ सहयोग उपलब्ध गराएको हो ।

आगलागीपीडितका लागि जनप्रतिनिधि र स्थायी निजामती कर्मचारीको दुईरदुई दिन तथा शिक्षक र करारका कर्मचारीको एकरएक दिनको सेवासुविधा उपलब्ध गराएका हलेसी तुवाचुङ नगरपालिकाका-७ का वडाध्यक्ष कमल गिरीले जानकारी दिए । उनका अनुसार माछापुच्छ्रे बैंक हलेसी शाखामा खाता खोलेर ‘क्युआर’मार्फत रकम जम्मा गर्न मिल्नेगरी राहत सङ्कलन अभियान सुरु गरिएको हो ।

वडा नं ७ महादेवस्थानस्थित हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसी बजारमा यही फागुन ४ गते आइतबार राति भएको आगलागीबाट पीडित बनेकाहरूका लागि दुई महिना आर्थिक सहयोग सङ्कलन अभियान सञ्चालन गर्ने निर्णय गरिएको प्रवक्ता गिरीले बताए । नगरप्रमुख विमला राईको संयोजकत्वमा राजनीतिक दल, रेडक्रस, होटल व्यवसायी, इलाका प्रहरी कार्यालय, समाजसेवी, विभिन्न सङ्घसंस्था र स्थानीयवासीको उपस्थितिमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

हलेसी बजारका स्थानीयवासी पदमशेर राईको भान्छा कोठाबाट सुरु भएको आगोले चार वटा घर, तीन वटा होटल, एउटा हार्डवेयर पसल, लघुवित्तको कार्यालयलगायत जलेर नष्ट भएको थियो । खाना पकाउने क्रममा ग्यास चुहावट भएर सुरु भएको आगलागीमा पदमशेरको काठ र जस्तापाताले बनेको तीनतले घर, पहिलो तलामा राखिएको हार्डवेयर पसल, दोस्रो तलामा सञ्चलित निर्धन उत्थान लघुवित्त संस्थाको कार्यालय सहितका सामग्री जलेर नष्ट हुँदा करिब रु चार करोड बराबरको क्षति भएको थियो ।

साँझ करिब ७ बजेदेखि सुरु भएको आगलागीबाट स्थानीय आइराख राईको न्यू कल्याण होटल, चारतले पक्की घर र घरको पछाडिपट्टी दुईतले काठको घर गरी दुई करोड ५० लाख रूपैयाँ बराबरको क्षति भएको निमित्त प्रमुख जिल्ला अधिकारी हिराधन राईले जानकारी दिए । आगलागीमा परेर स्थानीय प्रकाशचन्द्र गिरीको हलेसी दर्शन होटलको फलामको ट्रसले बनेको एकतले भान्छा घर र दुईतले पक्की घरमा आंशिक क्षति हुँदा ३० लाख रूपैयाँ बराबरको क्षति भएको जनाइएको छ ।

आइराख राईको घरसँगै जोडिएको भरणशेर राईको पारुहाङ होटल, चारतले पक्की भवनको दोस्रो र तेस्रो तलामा आंशिक क्षति हुँदा अन्दाजी ५० लाख रूपैयाँ बराबरको भएको छ । हलेसी बजारमा भएको आगलागीमा सात करोड ३० लाख रूपैयाँ बढीको क्षति भएको प्रहरीको प्रारम्भिक प्रतिवेदनले देखाएको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजकसमेत रहेका निमित्त प्रजिअ राईले उल्लेख गरे ।

सुक्खाग्रस्त क्षेत्रमा पर्ने हलेसी बजारमा भएको आगलागी नियन्त्रणमा लिनका लागि पानी अभाव भएकाले समस्या भएको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक हेमन्त राईले बताए । उनका अनुसार मध्यपहाली लोकमार्गअन्तर्गत दिक्तेल-हलेसी खण्डमा पर्ने हलेसी बजारमा दमकल अभावका कारण समयमा आगो नियन्त्रण गर्न नसक्दा ठूलो क्षति भएको हो ।

प्रतिक्रिया