मंगलबार, वैशाख ३०, २०८२

निःशुल्क शिक्षा दिन एक करोडको कोष स्थापना

नेपालखोज २०८१ फागुन १० गते ११:४०

गलकोट (बागलुङ) । बागलुङको धौलागिरी बुहुमुखी क्याम्पसमा जेहेन्दार र विपन्नलाई निःशुल्क रुपमा पठन–पाठन गर्नका लागि कोष खडा गरिएको छ ।

गत वर्षको तिहारमा देउसीभैलो खेलेर रु एक करोडको कोषको शुभारम्भ गरिएकामा कोष हस्तान्तरणको तयारीमा पुगेको छ । अहिले कोषमा रु ७५ लाख सङ्कलन गरिएको छ । धौलागिरीको एक मात्र आङ्गिक क्याम्पस धौलागिरी बहुमुखी क्याम्पसमा जेहन्दार र विपन्न विद्यार्थीलाई निःशुल्क उच्च शिक्षा दिनका लागि स्वतन्त्र विद्यार्थी युनियनको अगुवाइमा रु एक करोडको छात्रवृृति कोष गत वर्ष शुभारम्भ गरिएको थियो ।

उक्त कोषलाई छिट्टै एक करोड पुर्याएर क्याम्पसलाई हस्तान्तरण गर्ने तयारी गरिएको र अहिलेसम्म ७५ लाख सङ्कलन भइसकेको स्वतन्त्र विद्यार्थी युनियनका सभापती सुदिप सागर कँडेलले जानकारी दिए । कोष निर्माणका लागि धौलागिरी बुहमुखी क्याम्पस परिवार, शिक्षाप्रेमी, पूर्व विद्यार्थी तथा स्थानीय तहले राम्रो साथ दिएका छन् ।

कोषको ब्याज रकमबाट क्याम्पसमा अध्ययनरत विद्यार्थीमध्ये प्रत्येक वर्ष १०० विद्यार्थीलाई निःशुल्क शिक्षा दिइने सभापती कँडेलले जानकारी दिए । आर्थिक अवस्था कमजोर भएका विद्यार्थीको पठन–पाठनमा सहयोग पुर्याउने उद्देश्यले स्वतन्त्र विद्यार्थी युनियनले एक करोड ‘धौलागिरी बहुमुखी क्याम्पस छात्रवृति कोष’ निर्माण अभियान अन्तिम चरणमा पुगेको हो ।

कोष निर्माणका लागि देउसीभैलोमार्फत ४५ लाख सङ्कलन भएको र काठेखोला गाउँपालिकाले तीन लाख तथा पर्वतको जलजला गाउँपालिकाले एक लाख प्रदान गरिसकेको कँडेलको भनाइ छ । यस्तै शिक्षाप्रेमी, समाजसेवी, अग्रजको सम्झनामा समेत कोषलाई रु २० लाख रकम प्राप्त भइसकेको उनले बताए ।

उनका अनुसार कोष निर्माणमा पूर्व विद्यार्थीले समेत साथ दिइरहेका छन् । कोषमा एक करोड पुर्याउन स्थानीय तहमा निर्णय भएअनुसार प्राप्त भए लक्ष्यमा पुगिनेछ । कोषमा बागलुङ नगरपालिकाले रु पाँच लाख, तमानखोला गाउँपालिकाले रु पाँच लाख र बरेङ गाउँपालिकाबाट दुई लाख गरी १२ लाख रकम दिने निर्णय भइसकेको र जम्मा हुँन बाँकी रहेको कँडेलले बताए ।

प्रतिक्रिया