सात जातका गहुँको परीक्षण गरिँदै

नेपालखोज २०८१ फागुन ११ गते १३:२२

चितवन । भरतपुर महानगरपालिका–२२ का किसानले सात जातका गहुँबालीको परीक्षण गरेका छन् । पदम कञ्चन कृषक पाठशालामा आबद्ध २५ कृषकले विभिन्न किसिमका गहुँको बीउ उत्पादन र गुणस्तरीयताको परीक्षण गरेका हुन् । गहुँको गुणस्तरीय बीउ उत्पादनसम्बन्धी पदम कञ्चन पाठशालामा सिकेका सीप प्रभावकारी भए-नभएको मूल्याङ्कन गर्न सामूहिक रूपमा सात जातका गहुँबालीको परीक्षण गरिएको एकीकृत सत्रुजीव व्यवस्थापन (आइपिएम) का सहजकर्ता वासुदेव सापकोटाले बताए ।

उनका अनुसार जातीय, दूरी, उपचार विधि र मलखादसम्बन्धी परीक्षण भइरहेको छ । एक हजार वर्गमिटर (तीन कट्ठा) क्षेत्रफलमा लगाइएको बाली परीक्षण गरिएको सहजकर्ता सापकोटाले जानकारी दिए । उनले भने, ‘विभिन्न जातका गहुँलाई ‘प्लट’ बनाएर परीक्षण गरेका छौँ ।

स्वच्छ बीउ कसरी उत्पादन गर्न सकिन्छ भन्ने विषयमा कृषकलाई प्राविधिक ज्ञान दिइएको छ । उनका अनुसार गौतम, विजय, खैन, एनएल–९७१, सिएल–१४१२, एनएल–१६२७ र विएल–४३४१ जातका गहुँको परीक्षण गरिएको हो । स्थानीय दीननाथ आचार्यले गहुँ लगाउने र मल राख्ने विधि, विषादी प्रयोग गर्ने तरिकालगायत विषयमा यो परीक्षणबाट प्राविधिक ज्ञान प्राप्त भएको बताए । गहुँबालीमा रासायनिकभन्दा प्राङ्गारिक मलको प्रयोगले उपयुक्त हुने देखिएको उनको भनाइ छ ।

उनले भने, हामीले गाईभैँसीको गोबर, कुखुराको सुली र रासायनिक मलको प्रयोग गरेर प्लट बनाएका छौँ । त्यसमा कुखुराको सुली र गोबर प्रयोग गरेको ठाउँमा गुणस्तरीय उत्पादन भएको पाएका छौँ । समूहका सदस्य खेमराज भण्डारीले घरायासी विषादी राखेको ठाउँमा लामो समयसम्म सत्रुजीवले आक्रमण गर्न नसक्ने पाइएको बताए ।

प्रतिक्रिया