शनिबार, वैशाख १३, २०८२

प्रहरीद्वारा एकै महिनामा ५२ करोड बढी राजस्व सङ्कलन

नेपालखोज २०८१ फागुन १३ गते १५:१२

काठमाडौं । नेपाल प्रहरीले विभिन्न आपराधिक क्रियाकलाप नियन्त्रणका क्रममा एकै महिनामा ५२ करोड ४७ लाख रूपैयाँ बढी राजस्व सङ्कलन गरेको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले गत माघमा देशभरबाट ५२ करोड ४७ लाख छ हजार ८७९ रूपैयाँ राजस्व सङ्कलन गरेको जानकारी दिए ।

सबैभन्दा बढी अदालती फैसला कार्यान्वयनमा राजस्व सङ्कलन गरिएको छ । फरार अपराधी पक्राउलगायतबाट मात्रै २३ करोड ९२ लाख ९१ हजार रूपैयाँ बढी राजस्व सङ्कलन गरिएको छ । यो कुल राजस्व सङ्कलनको ४५ प्रतिशतभन्दा बढी हो ।

त्यसपछि भन्सार छलिका मालसामान बरामदबाट १६ करोड २७ लाख रूपैयाँ राजस्व सङ्कलन गरिएको छ । त्यसैगरी ट्राफिक कारबाहीबाट नौ करोड ५९ लाख रूपैयाँ, अवैध सुन चाँदी बरामदबाट एक करोड रूपैयाँ, हुण्डी कारोबार गर्नेबाट ३७ लाख राजस्व सङ्कलन गरिएको प्रवक्ता आचार्यले बताए ।

उहाँका अनुसार स्रोत नखुलेको रकम ८१ लाख रूपैयाँ, अवैध नदीजन्य पदार्थ उत्खनन् नियन्त्रणका क्रममा २२ लाख ५३ हजार रूपैयाँ, अवैध काठ बरामदबाट आठ लाख ९१ हजार रूपैयाँ र अवैध पशुपन्छी नियन्त्रणबाट १५ लाख ७१ हजार रूपैयाँ राजस्व सङ्कलन भएको छ ।

प्रतिक्रिया