काठमाडौंका २ विद्यालयमा बालबालिका र वातावरण (बाबा) परियोजना सम्पन्न

नेपालखोज २०८१ फागुन १४ गते १०:२६

काठमाडौं । काठमाडौं महानगरपालिका, सेन्टर फर इन्टिग्रेटेड अर्बन डेभलपमेन्ट (सिआईयुडी) र बोटलर्स नेपाल लिमिटेडको सहकार्यमा काठमाडौंका २ सामुदायिक विद्यालमा ‘बालबालिका र वातावरण (बाबा)’ परियोजना सफलतापूर्वक सम्पन्न भएको छ । यस परियोजनाको समापनको अवसरमा दुवै विद्यालयमा मटेरियल रिकभरी सुविधा (एमआरएफ) पनि हस्तान्तरण गरिएको थियो ।

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल, काठमाडौं महानगरपालिका सिटी प्लानिङ कमिसनका शिक्षा विशेषज्ञ शैलेन्द्र झा तथा वडाका प्रतिनिधिको उपस्थितिमा कार्यक्रम भव्य रुपमा सम्पन्न भएको थियो ।

२०२४ को जुन महिनामा सुरू गरिएको यस परियोजनाको उद्देश्य विद्यार्थीलाई पाठ्यपुस्तक बाहिरका ज्ञान प्रदान गर्नुका साथै वातावरणीय विषयमा शिक्षित गराउनु रहेको छ । यसले फोहोर व्यवस्थापन, फोहोरको स्रोतमै वर्गीकरण, पुनः प्रयोग र रिसाइक्लिङ जस्ता अभ्यासलाई प्रवद्र्धन गरेको छ ।

साथै, यस कार्यक्रम अन्तर्गत स्वच्छता र शहरी पानी व्यवस्थापनसम्बन्धी गतिविधि पनि समेटिएका छन् । उक्त परियोजना काठमाडौं महानगरपालिकाको-२२ स्थित हिमालय माध्यमिक विद्यालय, न्युरोड, र वडा नं. १२ स्थित श्री महेन्द्र सरस्वती सेवा आधारभूत विद्यालय, टेकुमा लागू गरिएको थियो ।

समापन समारोहमा विद्यार्थीले कार्यक्रममा उपस्थित महानुभावलाई विद्यालयका एमआरएफको भ्रमण गराउँदै नवप्रवर्तनशील फोहोर न्यूनीकरण प्रणाली, स्रोत वर्गीकरण र छुट्टै संकलन प्रणालीबारे जानकारी गराएका थिए । विद्यार्थीले यस सुविधाको प्रयोगबाट रिसाइक्लेबल सामग्री संकलन गरी बिक्री गर्ने योजना बनाएका छन् ।

संकलनबाट प्राप्त आम्दानी भविष्यका बालबालिका र वातावरण (बाबा) उपसमूहका विद्यालय गतिविधिमा लगानी गरिनेछ । साथै, संकलित र बिक्री गरिएका सबै फोहोरको अभिलेख राखी कार्यक्रमको प्रभाव मूल्यांकन पनि गरिनेछ ।

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले विद्यार्थी, विद्यालय व्यवस्थापन तथा परियोजना सञ्चालन टोलीलाई बधाई दिँदै विद्यालय-आधारित वातावरणीय शिक्षा कार्यक्रम बालबालिका र वातावरणलाई सफलतापूर्वक सञ्चालन गरेकोमा कोका-कोला बेभरेज नेपाल र सिआईयुडीलाई धन्यवाद व्यक्त गरेकी थिइन् ।

साथै, उनले यस्तो नयाँ शैक्षिक दृष्टिकोणले विद्यार्थीलाई प्रभावकारी रूपमा सिक्न मद्दत गर्ने पनि बताएकी थिइन् । केएमसी सिटी प्लानिङ कमिसनका शिक्षा विज्ञ शैलेन्द्र झाले बाबा उपसमूह र एमआरएफले विद्यार्थीलाई फोहोर व्यवस्थापनको सही तरिका सिकाएको बताएका छन् । अब उनीहरूले बेकार ठानेका वस्तु संकलन गरी आम्दानीसमेत आर्जन गर्न सक्ने भएका छन् ।

उनले विद्यालय व्यवस्थापन, शिक्षक, र सिआईयुडीलाई धन्यवाद समेत दिएका थिए । सिआईयुडीका कार्यकारी निर्देशक नवीन विकास महर्जनले विद्यालयमा सिकेका कुरा विद्यार्थीले आफ्ना घर-परिवारमा लागू गर्ने भन्दै स्वच्छता र फोहोरको मूल्य बुझ्ने क्षमता उनीहरूमा विकास भएको बताएका थिए ।

हिमालयन माध्यमिक विद्यालयका अध्यक्ष ई. डिल्लीरत्न शाक्यले सिआइयुडी र कोका-कोला बेभरेज नेपाललाई सहयोग र पहलका लागि धन्यवाद दिएका थिए ।

साथै, विद्यालय भ्रमण गरी टिमलाई हौसला प्रदान गरेकोमा उनले उपमेयर डंगोलको पनि प्रशंसा गरेका थिए ।

प्रतिक्रिया