स्थानीय सरकार सधैँ जनताप्रति उत्तरदायी र संवेदनशील हुनुपर्छ : मन्त्री गुरुङ

नेपालखोज २०८१ फागुन १६ गते २०:०६

लमजुङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय उपमहासचिव एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले स्थानीय सरकार सधैँ जनताप्रति उत्तरदायी र संवेदनशील हुनुपर्ने बताएका छन् । नेकपा (एमाले) लमजुङद्वारा बेँसीसहरमा आज आयोजित भेलालाई सम्बोधन गर्दै उनले स्थानीय सरकार जनताको सबैभन्दा नजिकको सरकार रहेकाले जनताको समस्या नजिकबाट नियाल्नुपर्छ भने ।

स्थानीय सरकारले जनताले अनुभूत गर्नेगरी काम गर्नुपर्नेमा जोड दिँदै सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले सरकार जहिले पनि सुशासन एवं पारदर्शिता कायम गर्नुपर्ने तथा राष्ट्र र जनताप्रति उत्तरदायी हुनुपर्ने बताए ।

त्यस्तै, उनले स्थानीय सरकारले संविधानले दिएको अधिकारलाई प्रयोग गर्नतर्फ अग्रसर हुँदै जनताको सेवामा लाग्दै जनताको मन जित्नुपर्ने बताए । सरकारलाई प्रभावकारी रूपमा अघि बढाउन दीर्घकालीन योजना निर्माण गरी त्यसअनुरुप बजेटको व्यवस्था गर्नुपर्ने उनले बताए ।

स्थानीय सरकारले गरेका राम्रा कामका प्रचार गर्न नसक्दा जनताप्रति निराशा छाएको उनले बताए । सञ्चारमन्त्री गुरुङले वर्तमान सरकार जनताका आवश्यकताप्रति संवेदनशील रहको र जनताका समस्या समाधानमा सरकार लागिपरेको बताए ।

जनताप्रति संवेदनशील भएरै सरकारले उखु किसान, दुग्ध किसानका भुक्तानीमा तदरुकता दिएको बताए । उनले सहकारीपीडित र मिटरब्याजीको समस्या समाधानमा सरकार लागिपरेको बताए ।

प्रतिक्रिया