गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा लागूऔषध विरूद्धको महाअभियान शुभारम्भ

काठमाडौं । गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा नेपाल पुलिस क्लब भृकुटीमण्डपमा शनिबार आयोजित समारोहबीच लागूऔषधविरूद्धको महाअभियान कार्यक्रम शुभारम्भ भएको छ । गृहमन्त्री लेखकले पानसमा दीप प्रज्जवलन गरी उक्त महाअभियानको शुभारम्भ गरेका हुन ।
समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले विभिन्न महत्वपूर्ण व्यक्तित्व, युवा तथा विद्यार्थी, चलचित्रकर्मी, कला र संगीत क्षेत्रका विशिष्ट व्यक्तिलाई जोडेर शुभारम्भ भएको यो महाअभियान अत्यन्तै प्रशंसनीय रहेको बताए ।
लागूऔषध समाजमा घातक चुनौतिको रूपमा देखा परेको र लागूऔषध दुव्र्यवसनले व्यक्तिलाई मात्र नभई समग्र परिवार तथा समाजलाई नै खोक्रो पारी आत्महत्या, साइबर अपराध, यौन जन्य अपराध, घरेलु हिंसा, सवारी दुर्घटना जस्ता अपराधमा समेत वृद्धि भइरहेकोले यसको न्यूनिकरण र नियन्त्रणमा सरकार र प्रहरीको प्रयासको साथै समाजका विभिन्न व्यक्तित्वलाई जोड्दै महाअभियानको रूपमा लागूऔषधविरूद्ध लड्न जरूरी रहेको उनले बताए ।
याे अवसरमा गृहसचिव गोकर्णमणि दुवाडीले लागूऔषध समाजमा अत्यन्तै पेचिलो बन्दै गएको प्रमुख समस्याको रूपमा रहेको उल्लेख गर्दै यसको समाधानका लागि नेपाल सरकार र मातहतका निकायको प्रयासले मात्र सम्भव नहुने हुँदा सबै सरोकारवाला पक्षको साथ, सहयोग, सहकार्य र समन्वय आवश्यक रहेको बताए । लागूऔषध दुव्र्यवसनले सामाजिक अपराधलाई समेत बढावा दिने हुँदा यसको नियन्त्रणमा सबै सरोकारवाला पक्षको सक्रिय सहभागीता, समन्वय, साझेदारी र सहयोग हुनुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले धन्यवाद मन्तव्य व्यक्त गर्दै विश्वव्यापी रूपमै जटिल समस्याको रूपमा देखा परेको लागूऔषधको उत्पादन, ओसारपसार, बिक्री वितरण एवम् सेवनको असर र प्रभाव हाल नेपालमा समेत बढ्दै गईरहेकोले यसको न्यूनिकरण र रोकथाम समेत संवेदनशील विषयको रूपमा देखापर्दै आएको बताए ।
व्यक्ति, परिवार र समाज मात्र नभई समग्र राष्ट्रलाई नै असर पर्ने गम्भीर चुनौतिको रूपमा रहेको लागूऔषधको नियन्त्रण र निराकरणमा समयमै एकजुट हुन नसकेको खण्डमा उत्पादनशील तथा सिर्जनशील युवा जनशक्ति गुमाउनुको साथै आपराधिक गतिविधि वृद्धि हुन जाने हुँदा यसको विरूद्ध सामुहिक प्रतिवद्धता आवश्यक रहेको उनले उल्लेख गरे । सुरक्षित, स्वच्छ र लागूऔषध रहित समाज निर्माणमा नेपाल प्रहरी सदैव कटिवद्ध रहँदै आएको र आगामी दिनमा समेत यसको निरन्तरता हुने उहाँले प्रतिवद्धता व्यक्त गरे ।
प्रहरी महानिरीक्षक कुँवरले लागूऔषध विरूद्ध जनचेतना फैलाउँदै यसको न्यूनिकरण तथा नियन्त्रणका लागि सामाजका सबै तह र तप्कालाई सम्मिलित गराई विशेष प्रकृतिको परिणाममुखी अभियान संचालनको आवश्यकता रहेको बताउँदै समाजको नेतृत्वदायी भूमिकामा रहेका राजनैतिक दल र युवा समुह एवम् सामाजिक आदर्शका रूपमा समाजसँग नजिक रहेका अभिभावक, शिक्षक, कलाकार तथा सञ्चारकर्मी समेतको सहभागीताले यस महाअभियानको प्रभावकारीता र गुणस्तरीयता बढ्न गई परिणाममुखी हुने अपेक्षा रहेको बताए ।
लागूऔषध नियन्त्रण र रोकथाम कुनै एक निकायको प्रयासबाट मात्र सम्भव नहुने हुँदा यसको लागि सरोकारवाला सबै पक्षको संयुक्त सहकार्य, साथ, सहयोग र समन्वय अपरिहार्य रहेको उल्लेख गर्दै उनले लागूऔषध कारोबार तथा दुव्र्यवसनीका घटना न्यूनिकरण र नियन्त्रणका लागि स्थानीय तहसँग समन्वय गर्दै नेपाल प्रहरीबाट चालिनुपर्ने कदममा खरो ढंगबाट प्रस्तुत हुन उपस्थित प्रहरी कर्मचारीलाई निर्देशन दिए ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले लागूऔषध सम्बन्धी प्रस्तुतीकरण गरेका थिए ।

प्रतिक्रिया