प्रथम राष्ट्रिय बाँस सम्मेलन : फागुन १५ गतेलाई ‘राष्ट्रिय बाँस जागरण दिवस’ निर्णय

खोटाङ । बाँसको सङ्ग्रहालय स्थापना गरेर खोटाङलाई ‘बाँसको राजधानी’का रूपमा पहिचान दिलाउन पहल गर्ने निर्णय गरिएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आयोजनामा सम्पन्न प्रथम राष्ट्रिय बाँस सम्मेलनले जारी गरेको घोषणापत्रमा यस्तो निर्णय समेटिएको हो ।
तीन दिनसम्म सञ्चालन भएको सम्मेलनले जारी गरेको ३५ बुँदे ‘खोटाङ घोषणापत्र’मा दिक्तेलमा बाँस अध्ययन तथा अनुसन्धान केन्द्र स्थापना गर्न पहल गर्ने, पहिलोपटक राष्ट्रिय बाँस सम्मेलन सुरु भएको दिन फागुन १५ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय बाँस जागरण दिवस’का रूपमा मनाउन पहल गर्ने, प्रत्येक तीन वर्षमा राष्ट्रिय बाँस सम्मेलन आयोजना गर्ने निर्णय गरिएको छ ।
‘जहाँ बाँस त्यहाँ जीवन, जहाँ जीवन त्यहाँ बाँस’ भन्ने नारासहित फागुन १५ गते सुरु गरिएको बाँस सम्मेलन बाँसको अपार सम्भावनालाई स्वीकार गर्दै फागुन १७ गते सम्पन्न भएको छ ।
जिल्ला घोषणापत्रमा बाँसलाई छिटो बढ्ने, बहुउपयोगी र नवीकरणीय स्रोतका रूपमा मान्दै यसले नेपालमा दिगो जीविकोपार्जन, चक्रिय अर्थतन्त्रको प्रवर्द्धन तथा वातावरण संरक्षणमा महत्त्वपूर्ण योगदान दिन सक्ने विश्वास गरिएको छ ।
सम्मेलन अवधिभर बाँससँग सम्बन्धित नीति निर्माण, खेती विस्तार, उद्यम विकास, बजारीकरणलगायत विषयमा ४४ जना विज्ञ तथा अध्येताबाट प्रस्तुत भएका २३ वटा कार्यपत्रको निचोडको आधारमा घोषणापत्र जारी गरिएको हो ।
घोषणापत्रमा बजारको मागअनुसार बाँसका विविध प्रजातिको व्यावसायिक खेती प्रवर्द्धन गर्ने, बाँसका बिरुवाको उत्पादन तथा खेती विस्तार गर्ने, नदी किनार, बाँझो जग्गा, सामुदायिक वन तथा गैरकृषिभूमिमा बाँस रोपणलाई प्रवर्द्धन गर्ने बुँदा समेटिएको मुख्य आयोजक दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले बताए ।








प्रतिक्रिया