लागूऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

नेपालखोज २०८१ फागुन १८ गते १४:३२

काठमाडौं । सर्लाहीको मलंगवा नगरपालिका-१० बाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम १ हजार १३० ट्याब्लेट सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही नगरपालिका–३ बस्ने २४ वर्षीय सुबोध पण्डित र कविलासी नगरपालिका–३ बस्ने २८ वर्षीय मनोज कुमार महतो रहेका छन् । प्रहरी चौकी ब्रहम्पुरीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साईकलमा आउँदै गरेका उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

कैलालीको धनगढी उपमहानगरपालिका–१ पुष्पलाल चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३० वर्षीय लोकेन्द्र कठायत र २१ वर्षीय मनिष कुन्जेडा रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

सिन्धुलीको कमलामाई नगरपालिका–९ भिमानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९९ ग्राम ८ सय ६० मिलिग्राम सहित झापा कचनकवल गाउँपालिका–५ बस्ने ४५ वर्षीय अवसार आलमलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भिमान र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले काँकरभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६१६७ नम्बरको हाईस गाडीमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

सप्तरीको बलान बिहुल गाउँपालिका–१ बलान खोला नजिकबाट नियन्त्रित लागूऔषध फेनारगन ९७ एम्पुल, डाइजेपाम ९७ एम्पुल र नाइट्राभेट १४ ट्याब्लेट सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उदयपुर त्रियुगा नगरपालिका–९ घर भएका २१ वर्षीय चुडामनी रायमाझी र २० वर्षीय सुमन परियार रहेका छन् । प्रहरी चौकी मौवाहाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

झापाको बिर्तामोड नगरपालिका–५ बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय ४० मिलिग्राम सहित भद्रपुर नगरपालिका–४ बस्ने २० वर्षीय कर्म मगरलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी बिट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

मोरङको कानेपोखरी गाउँपालिका–६ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४ हजार ४३ ट्याब्लेट, स्पास्पेन १ हजार ६ सय ३७ ट्याब्लेट र स्पास्मो १ सय ८२ ट्याब्लेट सहित ४ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कानेपोखरी गाउँपालिका–६ बस्ने ५५ वर्षीय चन्द्र लिम्बु, ४५ वर्षीया राज कुमारी लिम्बु, २९ वर्षीय सागर महत र २३ वर्षीय अनिल तामाङ रहेका छन् । प्रहरी चौकी रमाईलोबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

दाङको घोराही उपमहानगरपालिका–१२ हापुर बिजौरीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ९ सय १० मिलिग्राम सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–१८ बस्ने २८ वर्षीय सुरेन्द्र भण्डारी र सोही उपमहानगरपालिका–१२ हापुर पेदा बस्ने २३ वर्षीय बिजय बुढाथोकी रहेका छन् । अस्थायी प्रहरी पोष्ट हापुरबाट खटिएको प्रहरीले लु.५८ प ६०६८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाँसीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय मिलिग्राम सहित सोही नगरपालिका–३ बस्ने २७ वर्षीय अजय चौधरी समेत ३ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले सु.प.प्र ०२–००४ प १३१६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

चितवनको भरतपुर महानगरपालिका–३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय मिलिग्राम सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३६ वर्षीय विकाश गुरूङ र ३० वर्षीय सुरेश तामाङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवन र वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले विकाशको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।

बाँकेको नेपालगंज उपमहानगरपालिका–१६ भन्सार चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५ हजार ट्याब्लेट सहित ३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २४ वर्षीय नफिस अहमद कबडिया, सोही उपमहानगरपालिका–१० ट्राफिक चोक बस्ने भारत कलकत्ता घर भएका ३८ वर्षीय जियाउल शेष र १८ वर्षीय किशोर रहेका छन् । इलाका प्रहरी कार्यालय जयसपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको युपि ४० आर ७१४५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया